सेयर बजारको परिसूचक मंगलबार १५ सय अंकमुनि झरेको छ।
अघिल्लो दिनभन्दा १४ अंकले ओर्लिएर परिसूचक १४९३ अंकमा कायम भएको हो। चुनावपछि परिसूचक ३७ अंकले ओर्लिसकेको छ। १६६ कम्पनीहरुको ५९ करोड ९३ लाखको सेयर किनबेच भयो। बजारको पुँजीकरण १७ खर्ब ३७ अर्ब कायम भएको छ।
सबै उपसूचकहरु घटेका छन्। बैंकिङ र विकास बैंक ७, होटल ३२, जलविद्युत १४, फाइनान्स ४, बिमा ५९, उत्पादन १७, अन्य ३६ तथा माइक्रोफाइनान्स २० अंकले घटे।
व्यापार १ अंकमुनि रातो रह्यो। कारोबारका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रह्यो। कम्पनीको ७ करोड ९४ लाखको कारोबार भयो। मूल्य प्रतिकित्ता ९ सय कायम भएको छ। कम्पनीको मूल्य प्रतिकित्ता ४० रुपैयाँले घट्दा खरिद गर्नेहरुको चाप पर्यो।
६ करोडको कारोबार भएको प्राइम कमर्सियल बैंकको मूल्य प्रतिकित्ता ४२० छ। अरुण फाइनान्सका लगानीकर्ताले ९ प्रतिशत नाफा कमाए।
समता माइक्रोफाइनान्सकाले ५ प्रतिशत कमाउँदा अन्य कमाउनेहरु ३ प्रतिशत वा सोभन्दा मुनि रहे। सिनर्जी पावर तथा हिमालय डिस्टिलरीका लगानीकर्ताले ५ प्रतिशत बढी गुमाए। नेपाल टेलिकमकालगानीकर्ताले ४ प्रतिशत मूल्य गुमाए।
टेलिकमको सेयर मूल्यमा व्याजदरको प्रभाव सबैभन्दा बढी पर्ने गरेको छ। कम्पनीले लाभांशका रुपमा नगद मात्रै प्रदान गर्ने भएकाले सो लाभांशलाई प्रचलित व्याजदरसँग तुलना गरेर लगानीकर्ताले हेर्ने गरेको पाइन्छ।