एनआईसी एशिया बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र (डिवेन्चर) निश्कासन गर्न स्वीकृति पाएको छ।
उसले १ हजारका दरले ३० लाख कित्ता ऋणपत्र जारी गर्नेछ। बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ रहेको छ।
३ अर्बको ऋणपत्रमा ८० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँको व्यक्तिगत र २० प्रतिशत अर्थात ६० करोडको सर्वसाधारण लगानीकर्तालाई निश्कासन गरिने भएको हो।
प्रतिफलका रुपमा लगानीकर्ताले ९ प्रतिशत वार्षिक ब्याजदर पाउने छन्। अर्धवार्षिक रूपमा ब्याज झुक्तानी हुने ऋणपत्रको अवधि ७ वर्षको छ। अर्थात लगानी गरेको ७ वर्षपछि साँवा प्राप्त हुनेछ।
पुस १३ देखि १७ गतेसम्म ऋणपत्रको बिक्री खुल्ला गरिने बैंकले जनाएको छ।
सो ऋणपत्रलाई ईक्रा नेपालले एलए माइनस रेटिङ्ग प्रदान गरेको छ। जसले लगानीको उच्चतम सुरक्षा र न्यून कर्जा जोखिम जनाउँछ। बैंकलाई इक्रा नेपालले ए माइनस रेटिङ्ग प्रदान गरेको छ।
ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकरण हुने छ। ऋणपत्र नेपालको 'डेब्ट मार्केट'को विकासको लागि महत्वपूर्ण औजार हुने बैंकको अपेक्षा छ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एसिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्येको एक हो। बैंकको अधिराज्यभर १४९ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टर संचालनमा छन्। बैंकले ११७ अर्ब निक्षेप संकलन गरी ९८ अर्ब कर्जा प्रवाह गरेको छ।