साताको पहिलो दिन सेयर बजार दोहोरो अंकमा ओरालो लागेको छ। ११ अंकले घटेर परिसूचक १५०९ मा कायम भएको छ।
१५८ कम्पनीको ५१ करोड १२ लाखको सेयर खरिदबिक्री भएको छ। बजारको पुँजीकरण १७ खर्ब ५४ अर्बमा झरेको छ। होटल, उत्पादन र अन्य उपसूचक बढे पनि अरु सबै घटे। होटल १२, उत्पादन ३५ र अन्य उपसूचक ८ अंकले बढे।
बिमा ८८, बैंकिङ १२, फाइनान्स ६, जलविद्युत १६, विकास बैंक १८, माइक्रोफाइनान्स १२ र व्यापार ९ अंकमा ओर्लिए।
कारोबारका आधारमा नेपाल ग्रामीण विकास बैंक अग्रस्थानमा रहेको छ।
कम्पनीको ६ करोड ५४ लाखको कारोबार भयो। मूल्य प्रतिकित्ता ७५८ कायम भएको छ। ४ करोडको सेयर कारोबार भएको ग्लोबल आइएमई बैंकको मूल्य प्रतिकित्ता ३२६ मा घटेको छ।
समग्र बजार घटे पनि बोटलर्स नेपाल तराईका लगानीकर्ताले ८ प्रतिशत नाफा कमाए। माहुली सामुदायिक लघुवित्तको मूल्य ६ प्रतिशत बढ्यो। अन्य कमाउनेहरु ४ प्रतिशतमुनि रहे।
कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले ९ प्रतिशत मूल्य गुमाए। कम्पनीले २१ प्रतिशत बोनस घोषणा गरेकै दिन मूल्य घटेको छ।
यसले बोनसप्रति लगानीकर्ताको असन्तुष्टी देखाएको छ। एसबिआइ बैंकको मूल्य समायोजन भई ६४५ कायम भएको छ। समायोजनपछि पनि मूल्य घटेर बन्द हुँदा ६२७ मा झरेको छ।