नेपाल राष्ट्र बैंकले देशको समग्र आर्थिक स्थिति सन्तोषजनक रहेको औंल्याएको छ।
मौद्रिक नीति २०७४/७५ को त्रैमासिक समीक्षा गर्दै बैंकले मुलुकको समष्टिगत आर्थिक गतिविधि सन्तोषजनक रहेको जनाएको हो।
पर्याप्त वर्षाका कारण कुल गार्हस्थ उत्पादनमा महत्वपूर्ण अंश रहेको कृषि क्षेत्रले सकारात्मक योगदान पुर्याउने बैंकको अनुमान छ। गत वर्षभन्दा यो पटक धान उत्पादन बढ्ने कृषि मन्त्रालयको अनुमान रहेकाले यसले कुल गार्हस्थ उत्पादनमै टेवा पुर्याउने छ। कृषि मन्त्रालयले यो वर्ष ५३ लाख मेट्रिक टन बढी धान उत्पादन हुने अनुमान गरेको छ।
उर्जाको सहज आपूर्ति एवम् केही जलविद्युत परियोजनाहरु चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने दिशातर्फ भएकाले उर्जा संकट पनि समाधानउन्मुख रहेको बैंकले जनाएको छ।
पर्यटक आगमन र होटल बुकिङ्गमा उत्साहजनक वृद्धि देखिएको राष्ट्र बैंकले जनाएको छ। ‘पुननिर्माणले गति लिन थालेको, वित्तीय विकेन्द्रीकरणका कारण स्थानीय निकायको आर्थिक गतिविधि बढ्ने र पुँजीगत खर्च गर्ने क्षमतामा समेत विस्तार हुने अपेक्षा लिइएको छ’ बैंकले समीक्षा प्रतिवेदनमा भनेको छ।
राष्ट्र बैंकका अनुसार सरकारले चालु आर्थिक वर्षको शुरुदेखि नै आन्तरिक ऋण उठाउन थालेकोले बैंकिङ्ग प्रणालीमा तरलता व्यवस्थापन सहज हुँदै गएको छ।
चालु आबको पहिलो तीन महिनामा सरकारले ५७ अर्ब ५४ करोड आन्तरिक ऋण उठाएको छ। ब्याजदर करिडोर प्रणाली लागू भएकाले तरलताको उचित व्यवस्थापन तथा ब्याजदरमा देखिने उतार चढावलाई न्यूनीकरण गर्न मद्दत पुग्ने उसको भनाइ छ।
आर्थिक वृद्धिलाई दिगो बनाइराख्न भने नीतिगत तथा संरचनागत सुधार गर्नु आवश्यक रहेको समीक्षा प्रतिवेदनमा औंल्याइएको छ।
मुख्यतः पूँजीगत खर्च तथा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउँदै पूर्वाधार विकास र पुनर्निर्माण कार्यमा तिब्रता दिनुपर्ने राष्ट्र बैंकको ठहर छ। असोज मसान्तसम्म चालुगत खर्च १ खर्ब २६ अर्ब र पुँजीगत खर्च ११ अर्ब ६४ करोड भएको बैंकले जनाएको छ।
पछिल्लो समय आयातमा भएको विस्तार तथा रेमिट्यान्स आप्रवाहमा देखिएको न्यून वृद्धिले गर्दा चालु खाता घाटामा रहेको औंल्याइएको छ। समीक्षा अवधिमा कुल वस्तु आयात १६.९ प्रतिशतले बढेर २ खर्ब ५७ अर्ब ८७ करोड पुगेको छ।
रेमिट्यान्सको वृद्धिदर भने २.६ प्रतिशत मात्रै छ। बैंकका अनुसार साउन, भदौ र असोजसम्म १ खर्ब ७६ अर्ब रेमिट्यान्स भित्रिएको छ।
नेपालीहरुको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रुपमा रहेको कतारमा असहज परिस्थिति विद्यमान रहेको र समग्र वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुको संख्या घट्दो क्रममा रहेको उसले औंल्याएको छ।
छिमेकी मुलुक र अन्तर्राष्ट्रिय स्तरमा मूल्य वृद्धि न्यून रहेको, विद्युत् आपूर्तिमा उल्लेख्य सुधार भई औद्योगिक तथा सेवा क्षेत्रका गतिविधिकोउत्पादन लागत कम हुँदै गएको तथा आपूर्ति व्यवस्था समेत सहज रहेका कारण समीक्षा अवधिमा मुद्रास्फीति न्यून रहेको राष्ट्र बैंकले जनाएको छ। बैंकका अनुसार असोज महिनामा उपभोक्ता मुद्रास्फिति जम्मा ३. १ प्रतिशत छ।
गत वर्षको आधार मूल्य उच्च भएकाले मुद्रास्फितिमा कमी देखिएको औंल्याइएको छ। सार्वजनिक क्षेत्रमा भइरहेका निर्माण कार्यका कारण श्रमिक तथा सामग्रीहरुको मूल्यमा हुने वृद्धि तथा छिमेकी मुलुकमा समेत मुद्रास्फीति क्रमशः बढिरहेको जनाउँदै मूल्य स्थायित्व कायम गर्ने कार्यमा थप चनाखो रहनुपर्ने समीक्षा प्रतिवेदनमा औंल्याइएको छ।
असोज मसान्तसम्म सरकारको कुल राजश्व संकलन १ खर्ब ३९ अर्ब पुगेको छ। जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा १० प्रतिशत बढी हो। पहिलो त्रैमासिक अवधिमै बढी उठेकाले चालु आवमा राजश्व रकम प्रक्षेपण गरेभन्दा बढी उठ्ने अनुमान गरिएको छ।