कम्पनीहरुले जारी गर्ने धितोपत्रहरुको क्रेडिट रेटिङ निर्धारण गर्नका लागि भारतीय 'केयर रेटिङ्स'ले धितोपत्र बोर्डबाट लाइसेन्स पाएको छ।
नेपाल धितोपत्र बोर्डका डेपुटी डाइरेक्टर निरञ्जय घिमिरेले उक्त लाइसेन्स केयरका डाइरेक्टर डा. विनोद आत्रेय तथा सिइओ साजन गोयललाई हस्तान्तरण गरे।
हालसम्म इक्रा नेपालले मात्रै कम्पनीहरुको धितोपत्रहरुको क्रेडिट रेटिङ गर्दै आएकोमा अबदेखि नयाँ कम्पनी पनि थपिने भएको हो। सिइओ गोयलले म्युचुअल फण्ड, आइपिओ, ऋणपत्र, अग्राधिकार सेयर लगायत प्रत्याभूतिको रेटिङ गरिने स्पष्ट पारे।
कुनै पनि कम्पनीले सेयर, ऋणपत्र अन्य प्रत्याभूति जारी गर्नुपहिले व्यवसायको सक्षमतालाई मध्यनजर गरी स्तर निर्धारण गर्ने गरिन्छ। विभिन्न आधारभूत पक्षलाई विश्लेषण गर्दै अब कम्पनीको धितोपत्रलाई ‘ग्रेडिङ’ गर्ने काम इक्रा नेपाल तथा केयर रेटिङ्सले गर्नेछन्।
जसबाट सर्वसाधारणलाई पहिले नै कम्पनीका धितोपत्रको स्तर थाहा हुने छ। यसबाट लगानीको निर्णय गर्न सहजता मिल्नेछ। हाल इक्रा नेपालले सक्षम उत्कृष्ट धितोपत्रको मूल्याङ्कनका लागि क्रमशः ए प्लस, ए, बि प्लस, बि, जस्ता समूह दिने गरेको छ। जसमा इ ले सबैभन्दा कमजोरी रहेको औंल्याउँछ।
यसरी रेटिङ गरेपछि कत्तिको मजबुत कम्पनीमा लगानी गर्दैछु भन्ने कुराको पहिले नै संकेत पाइने भएकाले सोअनुसार कति लगानी गर्ने भन्ने निर्णय लिन सहजता हुने गर्दछ।