सेयर बजारको परिसूचक मंगलबार २५ अंकले बढेको छ। सो अंकको वृद्धिपछि १५१६ अंकमा नेप्से कायम भएको छ।
यस दिन पौने अर्बको कारोबार भएको छ। १६५ कम्पनीको ७५ करोड ६७ लाखको सेयर किनबेच भयो। बजारको पुँजीकरण १७ खर्ब ५९ अर्ब कायम भएको छ।
यस दिन सबै उपसूचक बढेका छन्। बैंकिङ २१, होटल १०, विकास बैंक २७, जलविद्युत ५५, फाइनान्स ३, बिमा ११२, उत्पादन ५६, अन्य ६ र माइक्रोफाइनान्स ५८ अंकले बढेका छन्।
यस दिन चिलिमेको सबैभन्दा धेरै ६ करोडको सेयर कारोबार भयो। कम्पनीको मूल्य बढेर प्रतिकित्ता ८८५ कायम भएको छ। प्रभु बैंक संस्थापकतर्फको ३ करोड ४७ लाखको कारोबार भयो। प्राइम कमर्सियल र स्टान्डर्ड चार्टड बैंक पनि कारोबारका आधारमा अगाडि रहे।
विजय लघुवित्त र कर्णाली विकास बैंकका लगानीकर्ताले १० प्रतिशत नाफा कमाए। हाम्रो विकास बैंक, किसान माइक्रोफाइनान्सका लगानीकर्ता पनि कमाउनेमा अगाडि रहे।
सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै ५.९ प्रतिशत गुमाए। कम्पनीले कुनै पनि बोनस नदिने निर्णय गरेकाले लगानीकर्ता सेयर बेच्नतिर लागे भने खरिद गर्नेहरु न्यून रहे। जसले गर्दा सबैभन्दा धेरै मूल्य घट्यो।
नेपाल हाइड्रो डेभलपरको कारोबार खुल्ला भएको छ। एनएचडिएल कोड रहेको कम्पनीको मूल्य रेन्ज ८९ देखि २६७ कायम भएको छ।