सेयर बजारको ओरालो गति बुधबार पनि सम्हालिएन। उन्नाइस दिनयता निरन्तर ओर्लिएको बजारमा बुधबार १७ दशमलव ८३ अंकको गिरावट आएको छ।
यस दिन १५९ कम्पनीको ४७ करोड ७७ लाखको कारोबार भयो। सबै सूचक तथा उपसूचक राताम्मे भएका छन्। बैंकिङ १४, व्यापार ३, होटल ७६, विकास बैंक २१, जलविद्युत २८, फाइनान्स ८, बिमा १३५, उत्पादन ३, अन्य २ र माइक्रोफाइनान्स उपसूचक २१ अंकले ओर्लिए।
कारोबारका आधारमा स्टान्डर्ड चार्टड बैंक अग्रस्थानमा रह्यो। कम्पनीले आजै वित्तीय विवरण सार्वजनिक गरेको थियो। सार्वजनिक वित्तीय विवरणअनुसार नाफामा उल्लेख्य सुधार देखिएको छ।
बजारमा मूल्य घटेका बेला किन्नेहरु पनि सक्रिय रहँदा कम्पनीको कारोबार उच्च हुन पुगेको हो। ३ करोड २२ लाखको कारोबार भएको उसको सेयर मूल्य घटेर प्रतिकित्ता १९८८ कायम भएको छ।
त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ३१ लाखको कारोबार भयो भने मूल्य घटेर १८५५ कायम भएको छ। २ करोड ३० लाखको कारोबार भएको प्रभु बैंकको मूल्य ३४५ मा झरेको छ।
माहुली सामुदायिक लघुवित्तका लगानीकर्ताले ४ प्रतिशत नाफा कमाए। युनिलिभर नेपालको मूल्य ३.६ प्रतिशतले बढेर प्रतिकित्ता २९ हजार १ कायम भएको छ।
बोटलर्स नेपाल तराईका लगानीकर्ताले सबैभन्दा धेरै ९. ९ प्रतिशत मूल्य गुमाए। कम्पनीले प्रतिकित्ता २५ रुपैयाँ नगद लाभांश दिने निर्णय गरे पनि लगानीकर्ता सन्तुष्ट देखिएनन्। लक्ष्मी लघुवित्त, हिमालयन डिस्टिलरी, सोल्टी होटल तथा गुराँस फाइनान्सका लगानीकर्ताले ४ प्रतिशत बढी नोक्सान ब्यहोरे।