सत्र दिनदेखि सेयर बजार निरन्तर ओर्लिरहेका बेला नेप्सेले अनलाइन ट्रेडिङको काम भइरहेको जनाएको छ।
नेप्से परिसरमै पत्रकार सम्मेलन गर्दै प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन ट्रेडिङका लागि हार्डवेयर प्राप्त भइसकेको र भुक्तानी प्रक्रिया पनि पुरा भइसकेको बताए।
यसै महिनाभित्र वाइको कम्पनीबाट स्पेसिफिकेसन डकुमेन्ट नेप्सेले पाउने तथा समितिले अध्ययन गरी स्वीकृति दिने उनले बताए।
अनलाइन ट्रेडिङ सिस्टम लागू भइसकेपछि लगानीकर्ताले इन्टरनेटको माध्यमबाटै दोस्रो बजारबाट सेयर खरिदबिक्रीको आदेश दिन सक्छन्।
त्यस्तै ब्रोकर कम्पनीको सेवा विस्तार गर्ने कार्य पनि भइरहेको साउदले बताए। मर्चेन्ट बैंकर्स, धितोपत्र बोर्ड, लगानीकर्ता संघ सम्मिलित प्रतिनिधी टोलीले तयार पारेको प्रतिवेदनका आधारमा कार्यक्षेत्र विस्तार गरिने उनले बताए।
त्यस्तै गैर आवासीय नेपाली र विदेशमा बस्ने नेपालीलाई दोस्रो बजारमा प्रवेश गराउने सम्वन्धमा रहेका कानुनी तथा प्राविधिक अवरोध हटाउन पहल भइरहेको नेप्सेले जनाएको छ। मार्जिन कारोबारका लागि निर्देशन प्राप्त भएको स्पष्ट पार्दै यसलाई तदारुकताका साथ कार्यान्वयन गरिने बताइएको छ।
नेप्से ओर्लिरह्योनेप्से भने सत्र दिनयता निरन्तर ओर्लिरहेको छ। कात्तिक ५ गते १५७१ अंकमा रहेको नेप्से त्यसयता हरियो अंकमा बन्द हुन सकेको छैन।
मंगलबार ८. ९ अंकले घटेर परिसूचक १४८४ अंकमा कायम भएको छ। यस दिन व्यापारबाहेकका सबै उपसूचक ओर्लिएका छन्। सो उपसूचक १ अंकमुनि हरियो रह्यो।
बैंकिङ ७, होटल ४६, विकास बैंक ६, जलविद्युत २, फाइनान्स ७, बिमा ४९, अन्य ४ र माइक्रोफाइनान्स १७ अंकले घटेका छन्। १५९ कम्पनीको ४२ करोड ४४ लाखको कारोबार भएको छ। बजारको पुँजीकरण १७ खर्ब २३ अर्बमा झरेको छ।
कारोबारका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक अग्रस्थानमा रह्यो। उसको १ करोड ९४ लाखको कारोबार भयो भने मूल्य प्रतिकित्ता ६३१ कायम भएको छ।
नेपाल टेलिकम, फरवार्ड माइक्रोफाइनान्स, स्टान्डर्ड चार्टड पनि कारोबारका आधारमा अगाडि रहे। सूर्योदय लघुवित्तका लगानीकर्ताले ८ प्रतिशत नाफा कमाए। रिलायन्स लोटस फाइनान्सको मूल्य ६ प्रतिशतले बढ्यो। गुमाउनेमा काबेली विकास बैंकका लगानीकर्ता अगाडि रहे।