के गाडीको काम मान्छेलाई एउटा गन्तव्यबाट अर्कोमा पुर्याउनु मात्र हो? एउटा भेगलाई अर्को भेगसँग जोड्नु मात्र हो? एउटा बजारको सामान अर्को बजारसम्म ओसार्नु मात्र हो?
प्रविधिको छलाङसँगै गाडीको उपयोगिता पनि बढेको छ– मान्छेको आउजाउ र सामान ओसारपसारभन्दा निकै बढी।
हामीले दिनहुँ चढ्दै आएको गाडीबाट प्रशोधित पिउने पानी उत्पादन सक्छ भन्ने केही वर्षअघिसम्म कसले पत्याउँथ्यो! विश्वकै पुरानो मोटर कम्पनी फोर्डले यसैलाई सत्य साबित गरेको छ, जसको श्रेय जान्छ फोर्डका इञ्जिनियर डग मार्टिनलाई।
मार्टिनले केही वर्षअघि एउटा लेख पढेका थिए। पेरुको लिमामा सडकछेउ झुन्ड्याइने होर्डिङ बोर्डबाट कसरी साताको सयौं लिटर पानी उत्पादन भइरहेको छ भन्ने उक्त लेख पढेर मार्टिन प्रभावित भए।
यसमा ठूलो वैज्ञानिक आविष्कार केही थिएन। समुन्द्री तटबाट बहने हावा जब होर्डिङ बोर्डमा पर्थ्यो, त्यसमा रहेको बाफ विस्तारै पानीमा परिणत हुन्थ्यो। र, भुइँमा तर्रर बग्थ्यो। सधैं यसरी खेर गइरहेको पानीलाई नै संकलन र प्रशोधन गरी पिउनयोग्य बनाइएको थियो।
‘त्यहाँका मान्छे होर्डिङ बोर्डबाट उत्पादित शुद्ध पिउनेपानी भरेर घर लैजान्थे,’ मार्टिनले भने, ‘यसले उनीहरूलाई धेरै फाइदा भइरहेको थियो।’
पानी उत्पादन गर्ने यो विधिले इञ्जिनियर मार्टिनलाई सोचमग्न बनायो। उनले ठाने, ‘होर्डिङ बोर्डबाट यसरी पानी उत्पादन हुनसक्छ भने कारबाट पनि हुन सक्ला! होर्डिङ बोर्डमा ठोक्किएपछि जसरी बाफमा रहेको पानीको कण छुट्टिन्छ, त्यही काम कारको एअरकन्डिसनरबाट पनि गराउन सकिन्छ।’
उनले यो ‘आइडिया’ आफ्ना सहकर्मी जोन रोलिंगरलाई सुनाए।
रोलिंगर उत्साहित भए।
उनीहरूले कारको एअरकन्डिसनरबाट निस्कने बाफलाई कसरी पानीको कणमा परिणत गर्न सकिन्छ भन्ने अनुसन्धान थाले। कम्तीमा कारभित्र सवार यात्रुलाई पिउन पुग्ने पानी उत्पादन गर्नु उनीहरूको उद्देश्य थियो।
‘धेरै दुर्गम गाउँ यस्ता छन्, जहाँ स्वच्छ पिउने पानी उपलब्ध हुँदैन,’ मार्टिनले भने, ‘अमेरिकाका बजार क्षेत्रमै धेरै मान्छे यस्ता छन्, जो बोतलको पानीको सट्टा स्वच्छ र सफा पानी पिउन चाहन्छन्।’
यही सोचाइले मार्टिन र रोलिंगरलाई कारबाट पिउने पानी उत्पादन गर्ने अनुसन्धानमा होमिन प्रेरित गर्यो।
फोर्डका यी इञ्जिनियरले यो आइडिया त्यतिबेला फुराएका थिए, जब विश्व अटो बजारमै ग्राहकलाई बढीभन्दा बढी सुविधा दिने नवीन उपाय खोजी हुँदै थियो। अटो इञ्जिनियरहरूले गाडीलाई एउटा गन्तव्यबाट अर्कोमा पुर्याउने साधन मात्र नभएर मान्छेको निकट ‘सहयोगी’ का रूपमा विकास गर्न चाहेका थिए।
उनीहरूको यो चाहना स्मार्टफोनको विकासबाट प्रेरित थियो।
‘दस वर्षअघि पहिलोचोटि आइफोन आउँदा कुराकानी गर्न, सन्देश पठाउन र इन्टरनेट चलाउन मात्र प्रयोग हुन्थ्यो,’ मार्टिनले भने, ‘अहिले हेर्नुहोस् त, आइफोन हाम्रो यति निकट साथी भएको छ, हामी आफ्ना धेरै कामलाई यसैको भर पर्न थालेका छौं।’
स्मार्टफोनले आफ्नो खास प्रयोजनबाट माथि उठेर उपभोक्तालाई अनेक सुविधा दिएजस्तै अटोमोबाइल क्षेत्रमा पनि यस्तै सिर्जनात्मक प्रयोग हुनुपर्ने उनले बताए।
मार्टिनको यो सोचाइ धेरै हदसम्म सत्य साबित हुँदै गएको छ। गाडीलाई यात्राको निम्ति मात्र नभएर विभिन्न प्रयोजनमा ल्याउन संसारभरकै अग्रणी अटोमोबाइल कम्पनी प्रतिस्पर्धामा छन्। यही प्रतिस्पर्धाको उपज हो, आज कतिपय कारलाई वाइफाइ हटस्पटका रूपमा प्रयोग गर्न सकिने भएको छ। कतिपय कार लोडसेडिङ बेला बिजुली उत्पादन गर्न प्रयोगमा आउन थालेको छ।
यति मात्र होइन, भविष्यमा गाडीकै माध्यमबाट हामीलाई आफ्नो स्वास्थ्य निगरानीको सुविधा दिन इञ्जिनियरहरू लागिपरेका छन्। यो प्रविधिअनुसार गाडीको सिटमा जडित सेन्सरले चालकको मुटुको चाल र शरीरको तापक्रम नापेर जानकारी दिनेछ। यसले चालकको स्वास्थ्यमा अप्रत्यासित परिवर्तन आउँदा दुर्घटना हुनसक्ने जोखिम कम गर्छ।
‘अटोमोबाइल क्षेत्रमा जुन रफ्तारमा अनुसन्धान भइरहेका छन्, त्यसले गाडीमा कस्ता–कस्ता सुविधा थपिन सक्छन् भन्ने हामी अनुमान पनि गर्न सक्दैनौं,’ मार्टिनले भने।
उनका अनुसार अधिकांश नयाँ गाडीमा कम्प्युटर चिप जडित छ, जसले तारको झमेला कम हुँदै गएको छ। पुराना मोडलका गाडीमा हुने मेकानिकल पाटपूर्जालाई विद्युतीय प्रणालीले प्रतिस्थापन गरेको छ। यसले गाडीमा सुविधा थप्न अब सफ्टवेयर मात्र परिवर्तन गरे पुग्ने भएको छ।
‘कम्प्युटर चिपको प्रयोगले आज हामी अटो इञ्जिनियरहरू आफ्नो परिकल्पना साकार गर्न सफल हुँदै गएका छौं,’ मार्टिनले भने, ‘गाडीबाट पिउने पानीको उत्पादन त्यसैको एउटा रूप हो।’
[caption id="attachment_99083" align="alignnone" width="757"]
फोर्डका इञ्जिनियर डग मार्टिन। तस्बिरः जिगह्विल्स डट कम[/caption]
यो आइडिया आएपछि केही दिन त मार्टिनलाई व्यवहारिक छ कि छैन भन्ने दुविधा भयो। जब उनले व्यवहारिक छ भनी ठम्याए, अर्काले यसबारे के सोच्लान् भनेर फेरि अन्यौलमा परे। सुरुमा त उनलाई आफ्नो कम्पनीभित्रै आइडिया सुनाउन संकोच लाग्यो। पहिलोचोटि कम्पनीको आन्तरिक वैठकमा आफ्नो विचार राख्न उनलाई निकै सकस परेको थियो। सबैले ‘हावा’ आइडिया भन्लान् कि भनेर उनी हच्किएका थिए।
फोर्ड मोटर्सले भने उनको यो विचार यस्तरी स्वागत गर्यो, बैठकलगत्तै मार्टिन र रोलिंगर सामान किन्न दगुरे। उनीहरूले केही पाइप, ट्युब र प्लम्बिङका सामान किनेर ल्याए। यसमा जम्मा एक सय डलर खर्च भयो। गाडीमा मिल्ने स्वचालित पम्प, पानी फिल्टर र पानी थाप्न चारपाटे ताप्के मार्टिनले आफ्नै घरबाट ल्याए।
‘यो काममा हामीलाई निकै मजा आयो,’ रोलिंगरले भने, ‘हामीलाई स्कुलको विज्ञान प्रोजेक्टमा काम गरेजस्तै लाग्यो।’
उनीहरूले एअर कन्डिसनरमा भएको क्वाइलबाट चुहिने पानीका थोपा जम्मा गरे। सामान्यतया त्यस्ता थोपा गाडीबाट चुहिएर सडकमा बग्छन्। मार्टिन र रोलिंगरले विकास गरेको प्रणालीमा भने त्यो पानी फिल्टर हुँदै संकलन गर्ने भाँडोमा जम्मा हुन्छ।
गाडीमा यात्रा गर्ने मान्छेलाई पानी पिउन मन लागे स्विच दबाएर निकाल्न सक्छन्। पानी आउने धारो गाडीको गियर बक्सनिर राखिएको हुन्छ। एअरकन्डिसनर क्वाइलबाट जम्मा हुने भएकाले पानी चिसो हुने रोलिंगर बताउँछन्।
फोर्ड मोटर्सले अब यो प्रणाली व्यावसायिक प्रयोगमा ल्याउने तयारी गरिरहेको छ।
हेर्नुहोस् भिडियोमाhttps://www.youtube.com/watch?v=MiGnixKvW7g
यो त भयो, गाडीबाट पानी उत्पादन गर्ने सुविधा, जुन हामी निकट भविष्यमै प्रयोग गर्न पाउनेछौं।
यसबाहेक, पछिल्लो समय गाडीमा उपलब्ध अत्याधुनिक सुविधा निम्न छन्।
वाइफाइ हटस्पटःअचेल केही गाडीले वाइफाइ हटस्पटको सुविधा दिन थालेको छ। जर्मन कम्पनी अडीको क्यू–फाइभ मोडल त्यसैमध्ये एक हो।
जेसी च्यान्डलर र उनकी पत्नी हरेक सप्ताहन्त मनाउन आफ्ना दुई छोरी लिएर उत्तर क्यारोलिनाको हिमाली क्षेत्र जान्छन्। यो यात्रालाई यसै वर्ष बजारमा आएको अडी क्यू–फाइभ मोडलको गाडीमा जडित इन्टरनेटले सहज बनाएको छ। ‘छोरीहरू यात्राभर आफ्नो ट्याब्लेटमा युट्युब भिडियो हेर्छन्,’ हाडजोर्नीका डाक्टर च्यान्डलर भन्छन्, ‘यसले उनीहरूलाई यात्राभर व्यस्त राख्छ।’
उनकी पत्नी बालबालिकाका डाक्टर हुन्। उनी पनि तुरुन्तै कुनै चिकित्सा रिपोर्ट बनाउनुपरे गाडीकै वाइफाइ हटस्पट प्रयोग गर्छिन्।
‘कुनैबेला हामी शुक्रबार दिउँसै सप्ताहन्त मनाउन हिँड्यौं भने उनी ल्यापटपसँगै लैजान्छिन् र फर्किंदासम्म आफ्नो काम पूरा गर्छिन्,’ च्यान्डलरले भने।
अडीका अतिरिक्त अन्य अटोमोबाइल कम्पनीले पनि गाडीमा वाइफाइ सुविधा दिन थालेका छन्। उदाहरणका लागि, अमेरिकाको जनरल मोटर्सले उच्च गतिको फोजी इन्टरनेट सुविधा दिन सुरु गरेको छ भने अन्य कम्पनीले पनि तीनमहिने निःशुल्क इन्टरनेट प्याकेज घोषणा गरेका छन्।
पावर जेनेरेटर (बिजुली उत्पादन):अमेरिकाको क्यालिफोर्नियामा अचेल खनिज इन्धन र ब्याट्री दुवैबाट चल्ने गाडीको बिक्री बढेको छ, जसले रासायनिक प्रक्रियाबाट बिजुली उत्पादन गर्न सक्छ। जापानी कम्पनी टोयोटाको मिराइ मोडलमा यस्तो सुविधा छ, जसले लोडसेडिङ बेला घरका रेफ्रिजेरेटर र अन्य उपकरण चार्ज गर्न मिल्छ।
‘हाइड्रोजन–फ्युल सेलबाट ठूलो परिमाणमा बिजुली उत्पादन गर्न सकिन्छ, यसले प्राकृतिक विपत्तिका बेला विद्युत प्रवाह गर्न सघाउँछ,’ जनरल मोटर्सका कार्यकारी निर्देशक चार्ल्स फ्रिजले भने।
होम रिमोटःअब तपाईंको गाडी यात्रा गर्ने साधन मात्र होइन, यात्राकै क्रममा घर सुरक्षा गर्ने पहरेदार पनि हो। कारमा जडित इन्टरनेटले यात्रा अवधिमा घरसँग सम्पर्क राख्ने सुविधा दिन्छ। यो प्रविधिअनुसार घरमा एउटा यन्त्र जोडिएको हुन्छ। त्यो यन्त्रसँग कारमा भएको प्रविधिले सम्पर्क राख्छ।
विद्युतीय कार उत्पादन गर्ने अमेरिकी कम्पनी टेस्लाले यो सुविधा दिएको छ। यसमा चालकले गाडीमै बसी–बसी घरको तापक्रम उपकरण नियन्त्रण गर्न, बत्ती बाल्न–निभाउन र सुरक्षा अवस्था अनुगमन गर्न सक्छन्।
फोर्डले पनि अमेजनसँग मिलेर यस्तै सुविधा दिन खोजिरहेको छ, जसमा गाडीभित्रै बसेर अनलाइन किनमेल गर्न सकिनेछ। यसले पनि घरको बत्ती नियन्त्रण गर्ने र सुरक्षा प्रणाली अनुगमन गर्ने सुविधा दिन्छ।
यो पनि हेर्नुहोस्: