म्याक्सस ब्रान्डको एमआइएफए ७ एमपिभी विद्युतीय कार सार्वजनिक गरिएको छ। आज (बुधबार)देखि सुरू भएको नाइमा मोबिलिटी शोमा यो गाडी सार्वजनिक गरिएको हो।
यो गाडी चिनियाँ कम्पनी एसएआइसी मोटर ग्रुप अन्तर्गत पर्ने म्याक्सस ब्रान्डको हो। यो गाडीलाई सुविधायुक्त र प्रिमियम गाडीको रूपमा मानिन्छ।
यसअघि म्याक्ससकै अर्को विद्युतीय पिकअप इटेरन-९ नेपालमा ल्याइउको थियो। सात सिट क्षमताको यो एमपिभीलाई नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्याएको हो।
एमआइएफए ७ प्रिमियम कार चढ्न रुचाउनेहरूका लागि यो गाडी उपयुक्त हुने दाबी कम्पनीको छ। अटो एक्सपोको अवधिभर एमआइएफए ७ बुक गर्ने ग्राहकलाई १० लाख रूपैयाँ नगद छुट दिइनेछ।
त्यस्तै, इटेरन-९ पिकअप बुक गर्ने ग्राहकलाई ५ लाख रूपैयाँ नगद छुट सहित अन्य विशेष अफरहरू पनि दिइएको उल्लेख छ।
सात सिटर एमआईएफए ७ को मूल्य १ करोड २५ लाख रुपैयाँ तोकिएको अर्गनाइजेसनका प्रबन्ध निर्देशक सौरभ थापाले बताए।
इटेरन-९ डबल क्याब इलेक्ट्रिक पिकअपको मूल्य १ करोड ९ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ। ९० किलोवाट आवरको ब्याट्री क्षमता रहेको म्याक्सस एमआइएफए ७ ले डिसी फास्ट चार्जर सपोर्ट गर्दछ।
यो गाडीमा ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने उल्लेख छ। यसमा इलेक्ट्रिक स्लाइडिङ ढोका, ब्लाइन्ड स्पट मोनिटरिङ र ३६० डिग्री क्यामेरा जस्ता सुरक्षा फिचरहरू छन्।
यस्तै, यसमा लेन-कीप असिस्ट र स्वचालित आपतकालीन ब्रेकिङ पनि समावेश गरिएको छ। यो गाडीले युरो एनक्याप लगायत अन्य सुरक्षा परीक्षणमा ५ स्टार रेटिङ पाएको छ।
उच्च क्षमताको ब्याट्रीले यो गाडीलाई ६३५ किलोमिटरसम्मको दूरी पार गर्ने क्षमता दिइने उल्लेख छ।
गाडीमा प्रिमियम डुअल १२.३ इन्चको डिजिटल डिस्प्ले र आधुनिक मल्टिमिडिया सिस्टम जडान गरिएको छ। ठूलो आकारको प्यानोरामिक सनरूफ र मसाज सिट पनि यसको विशेषता रहेको उल्लेख छ।
कम्पनीले ब्याट्रीमा ८ वर्ष वा २ लाख किलोमिटरको वारेन्टी दिएको छ। यसैगरी, मोटरमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी दिइएको छ।