यातायात व्यवस्था विभागले ट्याक्सीका रूपमा सञ्चालन हुने सवारीसाधन सम्बन्धी मापदण्डको मस्यौदा तयार पारेको छ।
विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै 'ट्याक्सीका रूपमा प्रयोग हुने सवारी सम्बन्धी मापदण्ड, २०८०' को मस्यौदा तयार गरेको हो।
उक्त मस्यौदा सार्वजनिक गर्दै विभागले सरोकारवाला, नागरिक समाज लगायतबाट सल्लाह, सुझाव तथा राय-परामर्श मागेको छ। आगामी असार ४ गतेभित्र विभागले प्राप्त गरेको सल्लाह, सुझाव र राय-परामर्शलाई समेत ध्यानमा राख्दै मापदण्डको मस्यौदालाई अन्तिम रूप दिइने विभागले जनाएको छ।
विभागका अनुसार ट्याक्सीका रूपमा प्रयोग हुने सवारी सम्बन्धी मापदण्ड, २०८० नेपालभर लागू हुनेछ। नयाँ ट्याक्सीको रूपमा दर्ता हुने वा पुराना ट्याक्सीको सञ्चालन अवधि सकिएपछि ती ट्याक्सीको सट्टामा दर्ता हुने नयाँ सवारी यो मापदण्डमा आधारित भई लागू हुनेछ।
ट्याक्सी भन्नाले पाँच सिट क्षमताको सार्वजनिक यातायातमा प्रयोग हुने सानो सवारीसाधन हो। ट्याक्सीको छतमा पहेँलो रङ लगाइएको हुनु पर्ने विभागले जनाएको छ।
ट्याक्सीको रूपमा प्रयोग हुने सवारीसाधनमा एन्टी-लक ब्रेकिङ प्रविधि (एबिएस) र इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन (इबिडी) अनिवार्य रूपमा हुनुपर्ने मापदण्डको मस्यौदामा उल्लेख छ।
त्यस्तै यस्तो सवारीसाधनमा ड्राइभर र यात्रु सिटमा गरी कम्तिमा पनि दुई वटा एयरब्याग, उच्च रफ्तार अलर्ट प्रविधि, रियर डोर चाइल्ड लक, सबै सिटमा सिट बेल्ट, सेन्ट्रल लकिङ, ड्राइभर र को-ड्राइभर सिट बेल्ट रिमाइन्डर, रिअर पार्किङ सेन्सर र रिअर भ्यू क्यामेरा अनिवार्य हुनुपर्ने प्रस्तावमा छ।
विभागले ट्याक्सीको आकार, यान्त्रिक क्षमता तथा उपलब्ध सुविधाको स्तर लगायतका आधारमा ट्याक्सीहरूलाई साधारण (अर्डिनरी), विशेष (डिलक्स) र विशिष्ट (लक्जरी) गरी तीन वर्गमा वर्गीकरण गरेको छ।
नयाँ मापदण्डमा प्रस्ताव गरेअनुसार साधारण ट्याक्सीमा ८०० सिसी वा सोभन्दा बढी क्षमताको इन्जिन जडित हुनुपर्नेछ। यो वर्गको ट्याक्सी विद्युतीय भएमा ब्याट्री संचित हुने उर्जा (किलोवाट आवर) र सवारीको कुल भार (केजी) बीचको न्यूनतम अनुपात ०.०१२ हुनुपर्नेछ।
त्यस्तै साधारण ट्याक्सी हुन गाडीको अधिकतम इन्जिन वा मोटरशक्ति ३० किलोवाट वा सोभन्दा माथि, अधिकतम इन्जिन वा मोटर टर्क ६० न्यूटन मिटर वा सोभन्दा माथि, ह्विलबेस २,३०० मिलिमिटर वा सोभन्दा माथि र बुट स्पेस (मालसामान राख्ने क्षमता) १६० लिटर वा सोभन्दा माथि हुनुपर्नेछ। साथै ट्याक्सीमा मनोरञ्जनका लागि कम्तिमा सवारीको अगाडि वा पछाडि साउन्ड सिस्टम हुनुपर्ने प्रस्ताव छ।
कुनै पनि सवारीलाई विशेष ट्याक्सीको रूपमा सञ्चालन गर्न चाहेमा त्यसमा १२०० सिसी वा सोभन्दा बढी क्षमताको इन्जिन जडान भएको हुनुपर्ने प्रस्तावमा उल्लेख छ। यो विद्युतीय सवारी साधन भएमा ब्याट्रीमा संचित हुने उर्जा (किलोवाट आवर) र सवारीको कुल भार (केजी) बीचको न्यूनतम अनुपात ०.०१९ हुनुपर्ने बताइएको छ।
विशेष ट्याक्सी हुने गाडीमा अधिकतम इन्जिन वा मोटरशक्ति ५० किलोवाट वा सोभन्दा माथि, अधिकतम इन्जिन वा मोटर टर्क ८० न्यूटन मिटर वा सोभन्दा माथि, ह्विलबेस २,४०० मिलिमिटर वा सोभन्दा माथि र बुट स्पेस २०० लिटर वा सोभन्दा माथि हुनु पर्नेछ।
अन्य सुविधाअन्तर्गत यस वर्गको ट्याक्सीमा मनोरञ्जनका सवारीको अगाडि वा पछाडि साउन्ड सिस्टम, कम्तिमा एउटा टच स्क्रिनसहितको डिस्प्ले स्क्रिन, विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झ्याल, जाडो-गर्मी सबै मौसममका लागि उपयुक्त स्वचालित वातानुकुलन प्रणाली र पछाडि रिडिङ ल्याम्प हुनुपर्नेछ।
नयाँ मापदण्डको मस्यौदामा विशिष्ट ट्याक्सी हुन चाहेको गाडीको इन्जिन क्षमता २००० सिसी वा सोभन्दा माथि हुनुपर्ने प्रस्ताव गरिएको छ। कुनै विद्युतीय गाडी विशिष्ट ट्याक्सीका रूपमा सञ्चालन गर्ने चाहेमा ब्याट्रीमा संचित हुने उर्जा (किलोवाट आवर) र सवारीको कुल भार (केजी) बीचको न्यूनतम अनुपात ०.०२५ हुनुपर्नेछ।
विशिष्ट ट्याक्सीमा अधिकतम इन्जिन वा मोटरशक्ति १०० किलोवाट वा सोभन्दा माथि, अधिकतम इन्जिन वा मोटर टर्क १७० न्यूटन मिटर वा सोभन्दा माथि, ह्विलबेस २,७०० मिलिमिटर वा सोभन्दा माथि र बुट स्पेस ४०० लिटर वा सोभन्दा माथि हुनुपर्नेछ।
यसका साथै विशिष्ट ट्याक्सी हुन सवारी साधनमा मनोरञ्जनका लागि अगाडि वा पछाडि साउन्ड सिस्टम, सवारीको पछाडिको सिटपङ्तिका लागि कम्तिमा दुईवटा टचस्क्रिन सहितको डिस्प्ले स्क्रिन, विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झ्यालहरू, जाडो-गर्मी सबै मौसममका लागि उपयुक्त स्वचालित वातानुकुलन प्रणाली र पछाडिको सिटको लागि समेत वातानुकुलित हावा प्रवाह हुने हावापथ हुनुपर्ने प्रस्तावमा उल्लेख छ।
यसबाहेक विशिष्ट ट्याक्सीमा पछाडिको सिटमा शिर अड्याउने हेड रेष्ट, हात अड्याउने आर्म रेष्ट, अगाडि र पछाडि कप होल्डर, पछाडि रिडिङ ल्याम्प, पछाडि सिटमा बस्ने यात्रुका लागि मोबाइल तथ अन्य विद्युतीय उपकरणहरू चार्ज गर्न डिसी वा एसी पावर आउटलेट, वाइफाई इन्टरनेट सुविधा, अगाडि कम्तिमा १००० मिलिमिटर र पछाडि ९५० मिलिमिटरको शिर कक्ष, अगाडि १००० मिलिमिटर र पछाडि ९०० मिलिमिटर पाउ कक्ष (लेग रूम) हुनुपर्नेछ।
सामान्य, विशेष र विशिष्ट ट्याक्सी छुट्याउन विभागले हरेक सवारीमा वर्ग खुल्ने संकेत चिन्ह भएको स्टिकर टाँस्नुपर्ने बताएको छ। यो अंग्रेजी अक्षरमा हुनेछ। अंग्रेजी अक्षर ‘ओ’ ले अर्डिनरी (सामान्य), ‘डी’ ले डिलक्स (विशेष) र ‘एल’ ले लक्जरी (विशिष्ट) भन्ने बुझाउनेछ। प्रत्येक ट्याक्सीमा अगाडिको सिसाको चालक तर्फको माथिल्लो कुना, पछाडिपट्टिको दायाँ र बायाँ ढोकाको सिसा र पछाडिको सिसाको दायाँतर्फको कुनामा यस्तो स्टिकर टाँस्नुपर्ने प्रस्तावित मस्यौदामा उल्लेख छ।
विभागले तयार पारेको मापदण्डको मस्यौदा अनुसार साधारण वर्गको ट्याक्सी भाडादर सरकारले तोकेको भाडादर बराबर हुनेछ। विशेग वर्गका ट्याक्सीको भाडा दर साधारण वर्गको ट्याक्सीको भन्दा २० प्रतिशत बढी हुनेछ विशिष्ट वर्गको ट्याक्सीको भाडा दर भने साधारण ट्याक्सीको भन्दा १०० प्रतिशत बढी हुनेछ।
नेपालमै पैठारी, उत्पादन वा एसेम्बल भएका सवारीको कुनै पनि मोडललाई पनि ट्याक्सीको रूपमा दर्ता गराउन सकिने व्यवस्था विभागले मस्यौदामा उल्लखे गरेको छ। यसको लागि विभागले तोकेको आवश्यक कागजात बुझाउनु पर्ने हुन्छ।
कुनै पनि ट्याक्सी यात्रुको लागि उपलब्ध छ वा छैन अर्थात् खाली छ वा छैन भन्ने बुझाउन सवारीको छतमा संकेत बत्ती राख्नुपर्ने मापदण्डमा उल्लेख छ। सवारी खाली हुँदा हरियो संकेतको बत्ती, खाली नुहँदा रातो संकेतको बत्ती र सवारी सेवामा नहुँदा सेतो संकेतको बत्ती बाल्नुपर्नेछ। बत्तीमा बालिने तीन थरी रंगको नियन्त्रण स्वीच चालक सिटको अगाडि जडान गर्नुपर्ने हुन्छ।
संकेत बत्तीको लम्बाई २५० देखि ३२० एमएम, चौढाई ८० देखि १०० एमएम र उचाई ९० देखि ११० एमएम हुनुपर्नेछ। त्यस्तै ट्याक्सी लेखिएको अक्षरको उचाई कम्तिमा ६० एमएम हुनुपर्नेछ।
त्यस्तै ट्याक्सीका लागि प्रयोग हुने कारहरूमा अनिवार्य रूपमा प्रिन्टरसहितको डिजिटल भाडा मिटर र डिस्प्ले सिहितको जिपिएस न्याभिगेसन प्रणाली हुनुपर्ने मस्यौदामा उल्लेख छ। विभागले मिटर जडित ट्याक्सीको मापदण्ड २०७६ खारेज गरेको जनाएको छ।