मोटरसाइकल तथा स्कुटरमा पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने प्रस्ताव थप छलफलबिना हाललाई स्थगित गरिएको छ।
उक्त प्रस्तावको चौतर्फी आलोचना भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसमा थप छलफल नबढाएको हो। यसअघि मंगलबार उक्त प्रस्तावमाथि प्रारम्भिक छलफल भएको थियो।
‘हिजो प्रारम्भिक छलफल मात्रै भएको हो। चौतर्फी विरोधपछि थप छलफल नगर्ने कुरा भएको छ,’ मन्त्रालयका एक अधिकारीले बुधबार सेतोपाटीसँग भने।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ हेल्मेटको महत्वबारे व्यापक जनचेतना जगाएपछि मात्र थप छलफल गर्नुपर्ने निष्कर्षमा पुगेको उनले बताए।
‘हिजो पनि निर्णय गरिहाल्ने गरी छलफल भएको होइन। प्रारम्भिक कुरा मात्र उठेको हो। त्यसमा जनताको चर्को विरोध देखिएपछि उहाँहरूलाई हेल्मेटको महत्वबारे अझै बुझाउनुपर्ने आवश्यकता महसुस गरिएको छ,’ उनले भने।
मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोटरसाइकल तथा स्कुटरमा पछाडि बस्नेका लागि पनि हेल्मेट अनिवार्य गर्नुपर्ने विषयमा छलफल भएको थियो। सवारी तथा यातायात व्यवस्था ऐनमा सवारी चलाउँदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख भएअनुसार कार्यान्वयनका लागि छलफल गरिएको मन्त्रालयले बताएको थियो।
मोटरसाइकल तथा स्कुटरमा पछाडि बस्ने यात्रुले र साइकल यात्रुले हेल्मेट नलगाउँदा दुर्घटनामा परे जीवनै जोखिममा पर्ने गरेकाले यस विषयमा छलफल गरिएको मन्त्रालयको भनाइ थियो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठको अध्यक्षतामा भएको उक्त छलफलमा विभिन्न सरकारी तथा सामाजिक निकायका प्रतिनिधिहरूको उपस्थिति थियो। त्यस क्रममा श्रेष्ठले हेल्मेटको महत्वबारे नागरिक स्वयं जानकार हुनुपर्ने भएकाले जनचेतनामूलक कार्यक्रम जरूरी भएको बताएका थिए। जीवन सुरक्षा सामाजिक सुरक्षा पनि भएकाले नागरिकलाई त्यसको निम्ति उत्प्रेरित गर्नुपर्ने उनको भनाइ थियो।
सरकारले यसअघि पनि पछाडि बस्ने यात्रुलाई हेल्मेट अनिवार्य गर्ने नियम ल्याएको थियो। त्यसमा विवाद सिर्जना भएपछि रोकिएको थियो।