यातायात व्यवस्था विभागले बागमति अंचलको मोटरसाइकल र स्कुटरको संकेत अक्षर (लट नम्बर) तीन डिजिटको बनाउने तयारी थालेको छ।
हाल बागमतिको ९९ ‘लट’ चलिरहेको छ। दसैँका बेला धेरै मोटरसाइकल तथा स्कुटर दर्ता गर्दा करिव १ हप्तामा अब ९९ लटको सबै नम्बर सकिने विभागको अनुमान छ।
नियमावली संशोधन गरी लट नम्वर ३ अंकको बनाउन तयारी गरिसकेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए।
इम्बोस्ड नं. प्लेट लागू भएको भए अहिले यस्तो कुनै समस्या पर्ने थिएन। तर इम्बोस्ड नं.प्लेटको सम्वन्धमा सर्वोच्चमा मुद्दा परेपछि चलनचल्तीमा रहेको नं.प्लेटमा रहेको अंक बढाउन नियमावली संशोधन गर्नुपरेको विभागले जनाएको छ।
‘नियमावली संशोधनको लागि मन्त्रिपरिषद पठाएका छौँ, त्यहाँबाट संशोधन पारित भएपछि ‘बा १०० प’ बाट दर्ता सुरु गर्छौँ’ उपाध्यायले सेतोपाटीसँग भने।
लट नम्बर सकिनु अगावै मन्त्रिपरिषदको निर्णय आउने उपाध्यायले जानकारी दिए।
हालको सवारी तथा यातायात व्यवस्था नियमावली , २०५४ अनुसार साना सवारी (मोटरसाइकल स्कुटर लगायत दुई पांग्रे)को नम्बर प्लेटमा बढीमा आठ ओटा सम्मको अंक र अक्षर रहने व्यवस्था छ। जसमा तल र माथि दुई लाइनमा राख्र्नु पर्ने छ।
नियमावली अनुसार माथिल्लो लाइनको सुरूमा दर्ता गर्ने कार्यालयको अंचल संकेत अक्षर र त्यसपछि समूह जनाउन अंक लेखिनु पर्ने छ। त्यस्तो सवारी जनाउने अंक १ देखि ९९ सम्म हुने भनिएको छ। त्यस्तो अंक पछि सवारीको किसिम जनाउने संकेत अक्षर लेख्नु पर्ने कार्य विधिमा उल्लेख छ।
त्यस्तै तल्लो लाइनमा सवारीको दर्ता नम्बर लेख्नु पर्ने र यस्तो दर्ता नम्बर एउटा संकेत अक्षरमा बढीमा चार अंक (१ देखि ९९९९) सम्म हुनेछ। कुनै एक संकेत अक्षरमा सबैभन्दा ठूलो ९९९९ पुगेपछि क्रमश अर्को संकेत अक्षर दिई त्यसमा पनि १ देखि ९९९९ सम्म दिँदै जानु पर्नेछ।