नाडा अटो शो आजबाट राजधानीको भृकुटी मण्डपमा सुरु भएको छ।
यो वर्ष नेपालमा चलेका ब्राण्डहरुले विद्युतिय गाडीलाई महत्व दिएका छन्। महिन्द्रा, हुण्डाई, टाटा, रेनो जस्ता चर्चित ब्राण्डले यही मेलामा नयाँ विद्युतिय गाडी सार्वजनिक गरेका हुन्।
२०७२ को भरतिय नाकाबन्दिमा विद्युतिय गाडीको आवस्यकता खड्कनु र नेपाल सरकारले विद्युतिय गाडीमा प्रोत्साहनको निती ल्याउनाले सवारी आयातकर्ता कम्पनीहरुले विद्युतीय गाडीमा जोड दिएको जानकारहरुको भनाई छ।
अटो शोमा विद्युतिय गाडी सार्वजनिक गर्नु भनेको बेच्नलाई मात्र नभएर जनचेतना पनि भएको लक्ष्मी इन्टरकन्टिनेन्टलका सिनियर ब्राण्ड म्यानेजर अवाशिस ओझा बताउछन्।
‘ इलेक्ट्रिक गाडी चलाउन त्यती सजिलो छैन। गाडी बेचेर मात्र हुदैन , ग्राहकलाई बिक्रि पछि पनि सेवा दिनुपर्छ’ उनले भने ‘ सरकारले निजि क्षेत्रसँग सहकार्य गरेर चार्जिङ स्टेसन लगाएतका गृहकार्यमा ध्यान दिनुपर्छ’।
यस्ता छन् नाडा शोमा सार्वजनिक भएका विद्युतिय गाडी
हुण्डाई ‘आयोनिक’
हुण्डाई गाडीको नेपालको लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘आयोनिक’ सार्वजनिक गरेको छ। कम्पनीले यसको बुकिङ समेत खुला गरेको छ। कम्पनीले यसको मूल्य ५२ लाख ९६ हजार निर्धारण गरेको छ।
यसमा २८ किलोवाटको ब्याट्री भएको र फुल चार्जमा २२० देखि २५० किलोमिटर चल्न सक्ने कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर (सर्भिस) दीपक थपलियाले दावी गरे।
यसमा तिन प्रकारका चार्जर रहेका छन्। घरमा राख्ने ‘अन बोर्ड चार्जर’ले १० देखि १२ घण्टामा फल चार्ज हुने, नर्मल एसी चार्जरले ४ घण्टा फुलचार्ज हुने र फास्ट डिसी चार्जरले ३० मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीको दावी छ। गाडीको रनिङ कस्ट प्रति किलोमिटरको १ रुपैयाँ ५० पैसा पर्ने थपलियाको दावी छ। यसको ब्याट्रीमा ८ वर्षको वारेन्टी रहेको छ।
यसमा रहेको अटोनोमस ब्रेकिङ सिस्टमले ठक्कर लाग्न लागे सुचना दिने र आफै रोकिने कम्पनीले जनाएको छ। ५ सिट क्षमता भएको यो गाडीले १६९ एनएम टर्क दिन्छ।
महिन्द्रा ‘इभिटारो ’
महिन्द्रा गाडीको नेपालको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटले इभिटारो सेडान सार्वजनिक गरेको छ।
२८ लाख ८० हजार मूल्य निर्धारण गरिएको यस सेडान ५ सिट क्षमताको रहेको छ। यो गाडी चार्ज हुन नर्मल चार्जरले ८ घण्टा ४५ मिनेट र फास्ट चार्जरले १ घण्टा ४५ मिनेट लाग्ने कम्पनीले जनाएको छ। ३१ किलोवाटको ब्याट्री रहेको यस सेडानले ९१ एनएम टर्क दिन्छ।
कम्पनीले यसको ब्याट्रीको ३ वर्ष वा ४० हजार किलोमिटरको वारेन्टी दिन्छ भने गाडीको २ वर्ष वा ४० हजार किलोमिटर वारेन्टी दिने कम्पनीले जनाएको छ। अगिलने यसको बुकिङ खुला गरेको छ।
टाटा ‘टिगोर इभी’
सिप्रदी ट्रेडिङले अटो शोमा ‘टिगोर इभी’ सार्वजनिक गरेको छ। टिगोर इभी’ पुरानो टिगोरको इन्जिन बाहेक सवै एउटै भएको कम्पनीले जनाएको छ।
यसलाई फुल चार्ज गर्न नर्मल चार्जरवाट ६ घण्टा, फास्ट चार्जरबाट डेढ घण्टा लाग्ने कम्पनीको दावी छ। फुल चार्जमा यसलाई १ सय किलोमिटरसम्म चलाउन सकिन्छ। अहिले यसको बुकिङ नखुलेपनि करिव ३०–३२ लाख पर्ने अनुमान गरिएको छ।
रेनो ‘जोए’
रेनोको नेपालको लागि आधिकारिक वितरक एड्भान्स अटोमोवाइलले ‘जोए’ सार्वजनिक गरेको छ। कम्पनीले यसको बुकिङ खुल्ला गरेको छैन र मूल्य पनि सार्वजनिक गरेको छैन।
रेनोले बजार अध्ययनको लागि मात्र यो गाडी ल्याएको हो। नेपालीले रुचाए छिट्टै बुकिङ खुल्ला गर्ने कम्पनीले जनाएको छ। १३५ किलोमिटर प्रतिघण्टा रफ्तारमा चल्न सक्ने यो गाडी १ घण्टा ४५ मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीले जनाएको छ। ४०० भोलटेजको ब्याट्री रहेको जोएले २२० एनएन पिक टर्क दिने कम्पनीको दावी छ।