आर्थिक वर्ष २०७४/७५ मा मोटरसाइकल तथा स्कुटर आयात घटेको छ। मोटरसाइकल तथा स्कुटर आयातमा यस वर्ष गत आर्थिक वर्ष भन्दा १२ हजार ४ सय ४८ वटाले ह्रास आएको हो।
यातायात व्यवस्था विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/७४ मा ३ लाख ५४ हजार ७१ दर्ता भएको थियो भने २०७२/७३ मा दर्ता संख्यामा १२ हजार ४ सय ४८ले ह्रास आएर ३ लाख ४१ हजार ६ सय २३ वटा मोटरसाइकल दर्ता भएको छ।
यसअघि आर्थिक वर्ष २०६७/६८ मा मात्र मोटरसाइकल तथा स्कुटरको आयात घटेको थियो।
मोटरसाइकल तथा स्कुटर दर्ता अघिल्लो वर्षको तुलना घटे पनि अरू सवारीको तुलनामा निकै उच्च छ।
यो वर्ष दर्ता भएको कुल सवारी ७८.०६ प्रतिशत मोटरसाइकल तथा स्कुटरले ओगटेको छ।
यो वर्ष दर्ता भएका ४ लाख ३७ हजार ६ सय ४१ सवारी मध्ये ३ लाख ४१ हजार ६ सय २३ वटा मोटरसाइकल तथा स्कुटर छन्।
दर्ता भएका मोटरसाइकल मध्ये सबै भन्दा धेरै बाग्मतीमा १ लाख ४ हजार ४ सय ४४ वटा दर्ता भएका छन् भने सबैभन्दा थोरै कर्णालीमा २ सय ६० वटा दर्ता भएका छन्।
नेपाल सरकारको नीतिको कारण मोटरसाइकल आयात घटेको नाडा अटोमोवाइल्स एसोसियसनका कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद दुलालले जानकारी दिए।
‘तरलताको अभाव भन्दै बैंकहरुले बेलाबेलामा सवारी साधनमा लगानी रोकिरहेका छन्, पछि मोटरसाइकलमा सिसिको आधारमा कर लगाइयो त्यसैले मोटरसाइकल कम आयात भएको हो’, उनले सेतोपाटीसँग भने।
विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०४६/४७ देखि हालसम्म मुलुकभर २५ लाख ३० हजार ७ सय २२ वटा मोटरसाइकल तथा स्कुटर दर्ता भएका छन्।
मोटरसाइकल तथा स्कुटर बाहेक यो वर्ष २ हजार ९ सय ७२ वटा बस समूहमा, १ हजार ९ सय ७३ वटा मिनिबस र मिनिट्रक समूहमा, १२ हजार १ सय ५४ वटा क्रेन, डोजर, एक्साभेटर समूहमा, ट्रक र टिपर समूहमा २४ हजार ३ सय ३८ कार, जिप, भ्यान समूहमा, १० हजार ३ सय ४२ पिकअप समूहमा, १ हजार ९ सय ३४ माइक्रो समूहमा, १६ हजार २ सय ९ टेम्पो समूहमा, १३ हजार ३ सय ९६ ट्याक्टर र पावरटिलर समूहमा, १२ हजार ३ सय २५ ई–रिक्सा र अन्य समूहमा ३ सय ४८ सवारी दर्ता भएका छन्।