भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गत सोमबार मन्त्रालयमा आफ्नो सय दिनको कार्य समीक्षा गर्दै ट्रायल पास वा नवीकरण गर्नेले स्मार्टकार्ड (लाइसेन्स) लिन लामो समय कुर्नुपर्ने वाध्यता हटाइनेगरी काम थालेको दावी गरे।
बिहान ६ देखि बेलुका ८ बजेसम्म कार्ड प्रिन्टको व्यवस्था मिलाएर पुरानो ‘ब्याक लग’ हटाई सजिलै कार्ड पाउने व्यवस्था मिलाइएको उनले बताए।
मन्त्रीले यसो भनिरहँदा यातायात व्यवस्था विभागमा भएका प्रिन्टरको हविगत बेग्लै छ। नयाँ ४ वटा प्रिन्टरले काम गरेका छैनन्। यी प्रिन्टर विभागलाई हस्तान्तरण भएको १ महिना भन्दा धेरै भइसक्यो।
‘यी प्रिन्टरबाट जसरी काम हुनुपर्ने हो त्यो अनुसार भएको छैन’ विभागका प्रवक्ता तुल्सीराम अर्यालले भने ‘कम्पनीलाई मेसिन छिटो बनाइदिन वार्निङ दिएका छौँ, मेसिन बनाउन अहिलेसम्म २ वटा टोली आएर गइसकेको छ, अर्को टोली आउँदै छ।’
कार्डको सम्पूर्ण डिजाइन प्रिन्टरमा फिट हुन नसकेको अर्यालले बताए। अहिलेको नयाँ कार्डमा सिएलआई, एमएलआई भन्ने सेक्युरिटी फिचर्स छ, जसमा नेपालको झण्डा र अंग्रेजीमा 'एनइपी' लेखिएको छ।
यी नयाँ फिचर्स पुरानो मेसिनबाट राम्ररी प्रिन्ट भएपनि नयाँ प्रिन्टरमा ‘सपोर्ट नगरेको’ विभागका कम्प्युटर इन्जिनियर सन्तोष पोखरेलले जानकारी दिए।
यो समस्या हटाउन सामान फेर्नुपर्ने र त्यो सामान इटलीबाट आजै आइपुग्ने पोखरेलले बताए। मद्रास प्रिन्टले कार्ड र प्रिन्टरले सबै फिचर्समा काम गर्छ/गर्दैन भन्ने टेस्ट नगरी नेपाल पठाएका कारण यो समस्या आएको उनले आरोप लगाए।
यी प्रिन्टर नबने पनि अर्को बिकल्पबाट २ महिना भित्र सबै लाइसेन्स प्रिन्ट गरिसक्ने प्रवक्ता अर्यालले दावी गरे। राष्ट्रिय परिचय पत्र छाप्ने मेसिनलाई उनले विकल्पका रुपमा प्रस्तुत गरे।
‘राष्ट्रिय परिचय पत्र छाप्ने मेसिनले हाम्रो कार्ड पनि सपोर्ट गर्दो रहेछ र उक्त प्रिन्टरले १ घण्टामै ५ देखि ६ सय वटा कार्ड प्रिन्ट गर्न सक्छ’ उनले भने।
यो आर्थिक वर्षमा यातायात व्यवस्था विभागले दैनिक ४ हजार भन्दा धेरै कार्ड छाप्ने मास प्रिन्टर ल्याउने अर्यालले जानकारी दिए।
अहिले नेपालभर दैनिक ४ हजारको हाराहारी लाइसेन्सको माग छ भने उत्पादन २ हजार भन्दा हुन सकेको छैन। जसले गर्दा हाल ट्रायल पास गर्ने करिव ३ लाख ५० हजारले लाइसेन्स पाउन सकेका छैनन्।