काठमाडौं उपत्यका र देशभरका महानगर तथा उपमहानगर क्षेत्रभित्र साउन १ गतेदेखि हरियो स्टिकरबिना गाडी चल्न नपाउने नियम केही समय कार्यान्वयन नहुने भएको छ।
गाडी परीक्षणनिम्ति मेसिन जडान गरेर प्राविधिकलाई तालिम दिइसके पनि स्टिकर सबै ठाँउमा पुर्याइ नसकेकोले सेवा सुरु गर्न नसकिएको यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए।
‘मेसिन पनि केही ढिलो आयो। यसकारण सेवाग्राहीले सवारी जाँच गराउने समय पाउनु भएन र सबै ठाँउमा स्टिकर पनि पुगिसकेको छैन’ उनले भने, ‘साउन १५ सम्म हामी सुरु गर्छौं।’
गाडीको प्रदूषणस्तर जाँच्ने मेसिन असारको दोस्रो साता आइपुगेको हो। मेसिनले जाँचेपछि मापदण्ड पूरा भएकालाई हरियो स्टिकर दिने र नभएकालाई कारबाही गरिने यातायात विभागले जनाउँदै आएको छ।
नियम साउन १ देखि लागू गर्ने भने पनि तयारी नसकिएकाले केही लम्बिने भएको अर्यालले बताए।
प्रदूषण जाँचपछि टाँस्ने स्टिकरको स्वरुप पनि पहिले ल्याएकोभन्दा केही परिवर्तन भएको छ। पहिलेको स्टिकर गोलाकार थियो भने अहिलेको वर्गाकार छ। त्यस्तै यस स्टिकरमा नम्बरिङ गर्न (स्टिकरमा लेख्न) मिल्ने विभागले जनाएको छ।
स्टिकरमा नम्बरिङ गर्दा कुनै कार्यालयले गल्ती गरेको खण्डमा सजिलै पत्ता लगाएर कारबाही गर्न सकिने अर्यालले जानकारी दिए।
यातायात व्यवस्था विभागले सवारी प्रदूषण जाँच गर्न डिजेल सवारीको लागि २० वटा ‘स्मोक मिटर’ र पेट्रोल सवारीको लागि २० वटा ‘ग्यास एनालाइजर’ ल्याएको छ। १४ वटा अञ्चल कार्यालय, नारायणगढ, भक्तपुर, स्वयम्भू र डडेल्धुरामा यो मेसिनबाट प्रदुशण जाँच गरिने विभागले जनाएको छ।
सार्वजनिक यातायातले ६–६ महिनामा प्रदूषण जाँच गराउने र निजीको हकमा १ वर्षमा प्रदूषण जाँच गर्नु पर्ने नियम छ।
ग्यास एनालाइजरले पेट्रोल प्रयोग हुने सवारीले उत्सर्जन गर्ने कार्बोमोनोअक्साइड, हाइड्रो कार्वन, नाइट्रोजन अक्साइड मापन गर्ने र स्मोक मिटरले ह्याड्रिड स्मोक युनिट ‘एचएसयु’ पत्ता लगाउने विभागका मेकानिकल इन्जिनियर मोहन प्रसाद भट्टराइले जानकारी दिए।
यस्ता मेसिनबाट प्रदूषण चेक गर्न निकै सरल हुने भएकोले कर्मचारीलाई सिकाउन धेरै समय नलागेको भट्टराईले दाबी गरे।
प्रदूषण जाँच गराउन पेट्रोल गाडीको एक मिनेटमै रिजल्ट निस्कने र डिजेल गाडीको धेरैमा १० मिनेट जति लाग्ने भट्टराईले जानकारी दिए।