सवारी साधनको प्रदुषण जाँच गर्ने ४० वटा मेसिन नेपाल भित्रिएको छ।
डिजेल गाडीको प्रदुषण जाँच गर्ने २० वटा ‘स्मोक मिटर’ र पेट्रोल गाडीको प्रदुषण जाँच गर्ने २० वटा ‘ग्यास एनालाइजर’ विमानस्थल भन्सारमा आइसकेको यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए।
भन्सारको प्रकृया पुरा गरेर मंगलबार, बुधवारसम्म निर्यातकर्ता कम्पनीले हस्तान्तरण गर्ने विभागले जनाएको छ। काठमाडौं उपत्यका र देशभरका महानगर तथा उपमहानगर क्षेत्रभित्र साउन १ गतेदेखि हरियो स्टिकर बिनाको सवारी चल्न नपाउने भएकोले यी मेसिन ल्याइएको अर्यालले जानकारी दिए।
‘केही दिनमै हामी १४ वटा यातायात व्यवस्था कार्यालय र बाँकी सेवा कार्यालयहरुमा मेसिन पुर्याउने छौँ, कर्मचारीलाई तालिम दिन्छौं’ उनले भने ‘प्रदुषण जाँच गराउन चाहनेले साउन अघि नै सम्बन्धित सेवा कार्यालयमा गएर जाँच गराउन सक्नुहुनेछ।’
सार्वजनिक यातायातले ६–६ महिनामा प्रदुषण जाँच गराउने र निजीको हकमा १ वर्षमा प्रदुषण जाँच गर्नु पर्ने नियम छ।
ग्यास एनालाइजरले पेट्रोल प्रयोग हुने सवारीले उत्सर्जन गर्ने कार्बोमोनोअक्साइड, हाइड्रो कार्वन, नाइट्रोजन अक्साइड मापन गर्ने र स्मोक मिटरले ह्याड्रिड स्मोक युनिट ‘एचएसयु’ पत्ता लगाउने विभागका मेकानिकल इन्जिनियर मोहन प्रसाद भट्टराइले जानकारी दिए।
यस्ता मेसिनबाट प्रदुषण चेक गर्न निकै सरल हुने भएकोले कर्मचारीलाई सिकाउन धेरै समय नलाग्ने भट्टराइले दावी गरे। ‘यसबाट परीक्षण गर्न निकै सजिलो छ र परीक्षणपछि तत्काल प्रिन्ट निस्कन्छ’ उनले भने ‘पास–फेलको प्यारामिटर नेपाल सरकारकै मापदण्ड अनुसार हुन्छ र प्रदुषण जाँचमा फेल भएका गाडीहरुले पुनः गाडी बनाएर पछि हरियो स्टिकर लिन सक्नेछन्।
सेवाग्राहीलाई प्रदुषण जाँच गराउँदा झन्झट नहुने भट्टराइले दावी गरे। ‘प्रदुषण जाँच गराउँदा सेवाग्राहीलाई झन्झट हुँदैन। पेट्रोल गाडीको एक मिनेटमै रिजल्ट निस्कन्छ र डिजेल गाडीको धेरैमा १० मिनेट जति लाग्छ’ उनले भने। यसरी जाँच गराउँदा सरकारले तोकेको ३५ रुपैयाँ दस्तुर बुझाउनु पर्छ।
प्रदुषण जाँच गराउनु पर्ने नियम पहिले देखिकै भए पनि सिमित स्थानमा मात्र कडाई हुने तथा मेसिनको अभावमा प्रभावकारी रुपमा लागू हुन सकेको थिएन। यसअघि काठमाडौमा ६ वटा मात्र मेसिन थिए।