नाडा अटोमोवाइल्स एसोसिएसनले आफ्नो महत्वकांक्षी योजना ‘स्किल्ड डेभलपमेन्ट सेन्टर’ बनाउनको लागि ८ अर्ब ७५ करोड भन्दा धेरै लगानी गर्ने तयारी गरेको छ।
नाडाले सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको स्किल्ड डेभलपमेन्ट सेन्टर निर्माण गर्ने छ। सेन्टर निर्माणका लागि अनुमान गरिएभन्दा ७ गुणा बढी खर्च हुने भएको छ।
नाडाले सेन्टर निर्माणको लागत जग्गा बाहेक एउटैको २० करोड लाग्ने अनुमान गरेको थियो। इन्जिनियर र प्राविधिकहरुले गरेको अध्ययनपछि भने लागत बढ्ने भएको हो।
नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालका अनुसार इन्जिनियर र प्राविधिकहरुको अध्ययनपछि सातवटै प्रदेशमा स्किल्ड डेभलपमेन्ट सेन्टर बनाउन ८ अर्ब ७५ करोड भन्दा धेरै पर्ने भएको जानकारी दिए।
‘एउटा सेन्टरको २० करोड लागत लाग्ने हाम्रो साधारण अनुमान थियो तर इन्जिनियर, टेक्निसियन लगायत विज्ञहरुसँग कुरा गर्दा एउटैको १ अर्ब २५ करोड देखि १ अर्ब ३० करोडको हाराहारीमा लाग्ने देखिएको छ’ उनले भने ‘अहिले ड्राफ्ट गरिरहेका छौँ, खर्च अरु बढ्न सक्छ।
यद्यपी यो लगानीको लागि नाडालाई समस्या नभएको दाहाल बताउँछन्।
‘सबै व्यवसायी साथीहरुले संस्थागत सामाजिक उत्तरदायीत्व (सिएसआर) को लागि करोडौं खर्च गरिरहनु भएको छ। त्यसरी हुने छरपस्ट रकमलाई एकै ठाउँमा जम्मा गर्यौँ भने लगानीको अभाव हुदैन’ उनले भने।
तर त्यसको लागि प्रत्येक प्रदेशमा चाहिने करिव १० बिगाह जग्गा भने सरकारले दिनुपर्ने उनी बताउँछन्।
के हो स्किल्ड डेभलपमेन्ट सेन्टरको उद्देश्य ?
नाडाले बनाउन लागेको स्किल्ड डेभलपमेन्ट सेन्टरको मुख्य उद्देश्य भनेको सवारी साधन बनाउन सक्ने दक्ष मेकानिक र ड्राइभर उत्पादन गर्नु हो। एउटा सेन्टरबाट वर्षिक ६ देखि ७ हजार दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिइएको दाहालले बताए।
‘हाम्रो यो योजनाको उद्देश्य रोजगारी बढाउनुको साथै रोड सेफ्टीको लागि राम्रो होस भन्ने हो’ उनले भने ‘स्तरीय ट्रेनिङ दिएर ड्राइभर र मेकानिक उत्पादन गर्यौँ भने नेपालमै तुरुन्त जागिर पाउँछन् र विदेशै जानेहरुको हकमा पनि कम जोखिम र धेरै पारिश्रमिक हुन्छ।’
बहुउपयोगी खेलकुद स्टेडियम पनि बन्ने भएकाले फुटबल, क्रिकेट सँगै योगा गर्नका लागि समेत उपयोगी हुने उनले बताए।
सेन्टरमा प्रशिक्षार्थी र कर्मचारी गरी करिव २ हजार मान्छे बस्ने व्यवस्था गर्नुका साथै खानको लागि सामुदायिक भान्छा बनाउने योजना रहेको दाहालले बताए।
‘सेन्टरहरुमा मेकानिक र ड्राइभरका साथै खेलाडीको उत्पादन पनि होस्, बिहान व्यायाम र योग गर्नेहरुको लागि पनि राम्रो व्यवस्था मिलोस भन्ने पनि हाम्रो उद्देश्य हो’ दाहालले भने।
यहाँ तालिम लिँदा सामान्य कम शुल्कको दस्तुर तिर्नुपर्ने व्यवस्था गराउने दाहालले जानकारी दिए। ‘निशुल्क भयो भने त्यसको खासै महत्व हुँदैन त्यसैले मुख्य मन्त्रीको नेतृत्वमा बन्ने कमिटीले तोकेको दस्तुर तिरेर तालिम लिन सक्ने व्यवस्था मिलाउछौँ र त्यो दस्तुर अरु प्राइभेट ट्रेनिङ सेन्टरमा भन्दा धेरै कम हुन्छ’ उनले भने।
कम शुल्क पनि तिर्न नसक्नेलाई पछि कमाएर तिर्ने गरी तालिम दिने व्यवस्था मिलाउने दाहालले बताए।