मयुर यातायात प्रालीले ठुला विद्युतीय बस ल्याउने तयारी गरेको छ। विद्युतीय बसको लागि महिन्द्रा, आईटेल लगायतका कम्पनीसँग कुरा चलिरहेको मयुरका अध्यक्ष मोहनबहादुर श्रेष्ठले जानकारी दिए।
‘भारतिय गाडी कम्पनीका प्रतिनिधिहरुसँग कुरा भैसकेको छ। अव चिनियाँ कम्पनीका गाडीको बारेमा बुझ्न चीन जाने तयारीमा छाँै, कुरा मिल्यो भने परिक्षणको लागि ५–७ वटा ल्याउछौ होला ’ उनले भने।
काठमाडौंमा सार्वजनिक यातायतको लागि चलाउन सकिने ठुला विद्युतीय बसको करिव करिव ८० लाखको हारमहारीमा पर्ने श्रेष्ठले बताए।
‘सार्वजनिक यातयातको लागि ल्याएपछी ४० वटा जति सिट भएको बस ल्याउछौ र पहिले परिक्षणको लागि काठमाडौं उपत्यका भित्र चलाउछौं’ उनले भने ‘ विद्युतीय गाडीको समस्या भनेको चार्जिङको हो। चार्जिङ स्टेशनको राम्रो व्यवस्था नभइकन लामो दुरीमा चलाउन सकिदैन’।
विद्युतीय बस ८ घण्टा चार्ज गर्दा करिव १० घण्टा जति मात्र गुड्ने भएकोले ब्याट्री स्टक राख्ने वा चार्जिङ स्टेसन बनाउने कुरा फिक्स गरेपछी मात्र कुरा अगाडी बढ्ने श्रेष्ठले बताए।
डिजेलको साटो बिजुलीबाट चल्ने बसको लागि पनि लगानीको अभाव नभएको श्रेष्ठ बताउछन्।
‘धेरै जना मयुर यातायातमा लगानी गर्न इच्छुक हुनुहुन्छ गाडी ल्याउन लगानीको अभाव भयो भने हामी सेयर होल्डर थप्छौ’ श्रेष्ठले भने।
मयुर यातायात प्रालीको अहिले २४ वटा सुविधा सम्पन्न बस संचालनमा छन्। त्यस्तै असारको पहिलो हप्ता अरु २० वटा ल्याउने अध्यक्ष श्रेष्ठले जानकारी दिए।