दाङ, तुलसीपुर उपमहानगरपालिका–१२ मा राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–अमेलिया सडक खण्डको रझेनामा बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाको कार्यालय छ।
यो कार्यालय परिसर नजिकै साढे ६ बिघा जमिनमा दुई वर्षदेखि वसन्त भण्डारीले व्यावसायिक तरकारी खेती गरिरहेका छन्।
अहिले वर्षा सिजनको तरकारी सकिनै लागेको छ। बोडी, भिन्डी र करेलाबाहेक अरू सबै तरकारी निकालेर नयाँ बिरूवा रोप्न जग्गा तयार गर्दैछन्।
'आकाश हेरेर जमिन जोतिरहेको छु। लगातारको झरीले जमिन चिसो भएकाले केही दिनदेखि जोत्न मिलेको छैन,' ४२ वर्षीय वसन्तले भने।
उनलाई काममा श्रीमती कमलाले सघाउँछिन्।
खेतीका लागि उनीसँग एउटा ट्र्याक्टर छ। तरकारीबारीमा दैनिक सरदर ३० जना स्थानीय कामदार हुन्छन्। उनीहरू बिउ र बिरूवा रोप्ने, गोडमेल गर्ने, काँटछाँट गर्ने, सिँचाइ गर्ने, मल हाल्ने, तरकारी टिपेर एक ठाउँमा जम्मा गर्ने लगायत काम गर्छन्।
आफ्नो बारीमा कामदारहरू देख्दा वसन्तलाई सन्तुष्टि मिल्छ।
'जागिर त म एक्लैका लागि थियो। अहिले आफ्नो खेतीमा दैनिक यति धेरैले रोजगारी पाउँदा ठूलो सन्तोष लाग्छ,' उनले भने।
वसन्त पहिले प्रहरी सेवामा थिए। १६ वर्ष दुई महिना प्रहरी सेवामा काम गरेर २०७५ सालमा हवल्दार पदबाट अवकाश लिएका हुन्।


प्रहरी सेवामा रहँदा उनले १० वर्ष सादा पोसाक लगाउने 'घुमुवा प्रहरी’ का रूपमा काम गरे। दाङ जिल्ला प्रहरी कार्यालय, नेपालगञ्जस्थित प्रदेश प्रहरी ब्युरो, प्रहरी प्रधान कार्यालय लगायतमा खटिए।
'कुल ३० वर्ष प्रहरी सेवामा रहन सक्थेँ तर १६ वर्ष पूरा भएपछि आफ्नै व्यवसाय गर्ने विचारले स्वेच्छिक अवकाश लिएँ,' उनले भने।
अवकाशपछि सडकको नाला बनाउने र यस्तै अन्य निर्माण कार्यमा लागे। बालुवा र गिटीको व्यापार पनि गरे। ठेक्काका ती कामले वसन्तको मनमा खुसीको पालुवा पलाएन। त्यही समय कोरोना भाइरस संक्रमण फैलियो, काम ठप्प भयो।
तुलसीपुरकै बेलुवाका दीपक भण्डारीले रझेनामा कोरोनाकालको केही दिनअघि एकै चाक्लाको साढे ६ बिघा जग्गा किनेका थिए। दीपक र वसन्त पारिवारिक रूपमा पुरानै चिनजानका व्यक्ति थिए।
एक दिन दीपकले वसन्तलाई आफूले किनेको जग्गा देखाउन लगे। वसन्तले त्यो जमिन तरकारी खेतीका लागि उपयुक्त देखे।
उनले फ्याट्ट भने— यो जग्गा त तरकारी खेतीका लागि राम्रो हुने रहेछ।
लगत्तै दीपकले सोधे— तपाईं गर्ने हो त?
वसन्तले पनि फ्याट्ट भनिदिए— सबै जग्गा दिने हो भने म गर्छु।
यतिकैमा कुरो अघि बढ्यो। वार्षिक साढे एक लाख रूपैयाँ भाडा तिर्ने गरी वसन्तले जग्गा पाए।
व्यावसायिक ढंगले अघि बढ्ने गरी वसन्तले 'खोदाइ बहुउद्देश्यीय कृषि फर्म’ दर्ता गरेर काममा सुरू गरे। यसअघि उनले तुलसीपुरकै एक कृषि फर्म अवलोकन गरे र कामको तरिकाबारे जानकारी लिए।
उनले सुरूमा साढे दुई बिघामा तरकारी लगाए। बाँकी जमिनमा मकै रोपे।
'आफ्नै ज्ञानका आधारमा एक सिजनको तरकारी उत्पादन गरेर खेतबाटै बेचेँ। धेरै आम्दानी नभए पनि घाटा भएन,' वसन्तले भने, 'पहिलो पटक तीन लाख रूपैयाँको मकै बेचेँ। मकैपछि ४० क्विन्टल तोरी फल्यो, सात लाख रूपैयाँको बेचेँ।'
बिस्तारै उनले काम सिक्दै गए। तरकारी खेती पनि बढाउँदै लगे। दुई वर्षमा साढे ६ बिघामै तरकारी खेती फैलाए।


उनले पूरा जग्गामा थोपा सिँचाइ प्रणाली पुर्याएका छन्। सुख्खा याममा भने सिँचाइ पुर्याउन कठिन पर्छ। बिजुलीको अनियमितताले पनि हैरान पार्छ। पानी तान्न बाधा पर्छ।
हाल उनी सामान्यतया तीन सिजन तरकारी उत्पादन गर्छन्। टमाटर, भेडे खुर्सानी, खुर्सानी, बोडी, लौका, करेला, काँक्रा, काउली, बन्दा लगायत तरकारी फलाइरहेका छन्।
उनी तरकारी बेच्न बजार जानुपर्दैन। व्यापारीहरू बारीमै आइपुग्छन्।
गत माघ–फागुनमा उनले साढे दुई बिघा क्षेत्रफलबाट २५ लाख रूपैयाँको टमाटर बेचे। त्यसपछि हालसम्म १० लाख रूपैयाँको अन्य तरकारी बेचिसके।
यति बेला उनी आउने दसैं–तिहारलाई लक्ष्य गरेर उत्पादनको तयारीमा लागेका छन्।
'आम्दानीबाट पनि सन्तुष्ट छु,' उनले भने, 'सबै खर्च कटाएर एक सिजनमा पाँचदेखि सात लाख रूपैयाँ बचत हुन्छ।’
वसन्त सम्भव भएसम्म रासायनिक मल र रासायनिक विषादी कम प्रयोग गर्छन्। गाईभैंसी र कुखुराको मल प्रयोग बढी प्रयोग गर्छन्। अपवादबाहेक जैविक विषादी मात्र प्रयोग गर्छन्।
गत फागुनमा वसन्तले मुलुकभरका उत्कृष्ट करिब चार सय किसानमाझ परिचित हुने अवसर पनि पाए। चितवनमा 'कर्मा कम्पनी’ ले केही किसानलाई भेला गरेर केही विषयमा एक हप्ताको प्रशिक्षण दिएको थियो। त्यसमा उनी पनि सहभागी थिए।
वास्तविक किसान राज्यको भर परेर बस्न नहुने र कसैको मुख नताकी आफ्नो ढंगले अघि बढ्नु उचित हुने उनी बताउँछन्।
'ठूलो रकम खर्च गरेर, ठूलो जोखिम उठाएर कामका लागि विदेश जानुको साटो सानोतिनो लगानीमा आफ्नै देशमा स्वरोजगारी गर्न सकिने रहेछ,' उनले भने, 'व्यावसायिक रूपमा तरकारी खेती गर्ने र आफू खटेर मेहनत गर्ने हो भने नेपालमै पनि पैसा कमाउन सकिने रहेछ।’