पोखरा–१३ मा २० रोपनी जग्गा भाडामा लिएर कृषि कर्ममा लागेकी सकुन्तला चौधरीले आजकल रासायनिक मल र विषादी प्रयोग गर्दिनन्।
तरकारी बालीमा रासायनिक विषादी छर्किंदा उनको आँखा पोल्थ्यो। शरीर गलाउँथ्यो। रासायिनक मल र विषादी प्रयोग गरिएका खानेकुरा खाँदा क्यान्सर जस्ता दीर्घरोग पनि लाग्न सक्ने उनले युट्युबबाट थाहा पाइन्। अनि रासायनिक पदार्थ प्रयोग गर्न छाडिदिइन्।
‘विषादी त बिखै रहेछ। युट्युब हेर्दा पो यसको असर हामीलाई पनि पर्न सक्छ भनेर थाहा पायौं,’ उनले भनिन्, अनि युट्युबबाटै जैविक मल र विषादी बनाउन सिक्यौं।’
कुनै बेला सुन्तलाले प्रख्यात पोखरामा पुराना सुन्तलाका बोटहरू सुकेर गए। जिउँदा बोट पनि टुम्माबाट पहेँलो भएर मर्दै गएका छन्। उत्पादन घटेका छन्। टुप्पा सुकेका पुराना बोटबाट सुन्तलाका स्वाद र आकार खस्किएका छन्।
पोखरा, कृस्तीकी कल्पना थापाले सुन्तला बेचेर एउटै सिजनमा ५ लाख रुपैयाँसम्म आम्दानी गरेकी थिइन्।
टुप्पा मर्दै गएपछि सुन्तला फल्न पनि छाड्दै गयो। फले पनि स्वाद र सुन्तला आकार सानो हुँदै गयो। अनि उनले कृषि प्राविधिकको सुझाव अनुसार सबै सुन्तलाका बोट काटेर नष्ट गरिन्।
कृस्तीका कल्पनाले मात्र होइन, अरू किसानले पनि सुन्तलाको पुरानो बोट नष्ट गरेका छन्। रोग लागेका पुराना बोट नष्ट गरेर उनीहरूले एक महिनाअघि नयाँ बिरूवा रोपेका छन्। नयाँ बिरूवाबाट फेरि पोखराको सुन्तला भनेर पहिचान दिने फल लाग्ने आशा गरेको कल्पनाले बताइन्।
‘हामीले गाउँमा १५ जना कृषक समूह मिलेर पुराना सबै रोग काटेर फाल्यौं। गाउँभरि अहिले ५०० वटा नयाँ बिरूवा रोपेका छौं,’ उनले सेतोपाटीलाई भनिन्, ‘नयाँ बिरूवामा टुप्पा मर्ने रोग लाग्दैन भनेर विश्वास गरेका छौं।’
तरकारी बालीमा होस् कि सुन्तला जस्ता फलफूलमा। पोखराका किसान कृषि उपजमा लाग्ने नयाँ नयाँ रोग र कीराबाट आक्रान्त छन्। वर्षभरि मेहनत गरेको फल रोगले खाएको छ। कीराले चुसेर खोक्रो बनाइदिएको छ। उनीहरू यस्ता समस्या पहिचान गरेर समाधान गर्न असमर्थ छन्।
कृषिमा देखिएका यस्ता समस्या समाधान गर्न ४, ५ वर्ष अघिसम्म पोखरा–१३ कि सकुन्तलाले प्रशस्त रासायनिक मल विषादी प्रयोग गरिन्। रासायनिक मल र विषादीले क्षणिक लाभ त दियो, दीर्घकालीन हानि पुर्यो। रासायनिक मल र विषादी प्रयोग गर्दा वर्षैंपिच्छे दोब्बर प्रयोग गर्दै जानुपर्ने भयो। जसले उनको स्वास्थ्यलाई त हानि गर्यो नै उपभोक्ता र माटोलाई पनि असर पुग्यो।
दाङबाट कैलाली हुँदै पोखरा आइपुगेकी सकुन्तलाले यसको छुटकारा पाउन युट्युबमा खोजी गरिन्। रासायिनक मल र विषादीले गर्दा कृषि बाली, माटो र मानिसका स्वास्थ्यमा पारेका असरबारे थाहा पाइन्। अनि यसका विकल्पका बारेमा पनि युट्युबमै हेरिन्।
‘युट्युबमा हेरेर नै हो हामीले रासायनिक विषादी बिख हो भनेर थाहा पाएको,’ उनले भनिन्, ‘अनि युट्युबबाटै अर्गानिक विषादी र मल बनाउने सिक्यौं। यहाँका कृषि कार्यालयले पनि हामीलाई तालिम दिएर सहयोग गर्यो।’
भारतीयहरूले बनाएको कृषिसम्बन्धी युट्युब हेरेर धेरै कुरा थाहा पाएको उनले बताइन्।
बर्खायाममा धान समेत रोप्ने गरेकी सकुन्तलाका बारीमा नगदेबाली तरकारी प्रशस्त छन्। उनले काँक्रा, घिरौला, करेला, सागसब्जी लगायत तरकारी फलाइरहेकी छिन्। उनको तरकारी बालीमा अहिले रासायनिक मल र विषादीका ठाउँमा प्राङ्गरिक मल र विषादी प्रयोग गरेकी छन्।
रासायनिक विषादी प्रयोग गरिएका तरकारी बाली छिट्टै कुहिने गरेको उनको अनुभव छ। जबकी, प्राङ्गरिक विषादी प्रयोग गरिएका तरकारी चाँडै कुहिँदैन। उत्पादित तरकारी बाली खरिद गर्न उपभोक्ताहरू बारीमै आइपुग्छन्। धेरै फलेका बेला नजिकका हाटबजारमा पुर्याउने गरेकी छन्।
‘अर्गानिक खेती थालेपछि बिक्री गर्न पनि समस्या छैन। वडामै बिक्री हुन्छ,’ उनले भनिन्, ‘धेरै फलेका बेला छोरीले मण्डी लगेर बेच्छिन्।’
तरकारी बालीमा लाग्ने रोग कीरा मार्न उनले घरमै घरेलु विषादी बनाउँछिन्। जसले माटोलाई असर गर्दैन। तरकारी बालीलाई पनि हानि पुर्याउँदैन। प्राङ्गरिक विषादी प्रयोग गरिएका तरकारी सेवन गर्दा उपभोक्ताको स्वास्थ्यलाई पनि असर गर्दैन। विषादी प्रयोग गर्दा आँखा पोल्ने समस्याबाट पनि उनले छुटकारा पाएकी छन्।
माटोभित्र लाग्ने कीराका लागि उनले गाईभैंसीका पिसाब प्रयोग गरेर छुट्टै विषादी बनाउँछिन्। जसले माटो बिगार्दैन उल्टै सपार्छ। अनि माटोमुनि बिरूवाका जरा खाने कीरा मार्छ। माटोमाथि फलफूल र तरकारीमा लाग्ने कीरा मार्न पन उनले झोल विषादी प्रयोग बनाउँछिन्। यसले तरकारी बालीमा लाग्ने कीरा आउन दिँदैन।
यस्ता विषादी बनाउन उनले घरमै पाइने प्याज, लसुन, खुर्सानी, अदुवा लगायत प्रयोग गर्छिन्। गाईभैंसीका पिसाबका अलवा असुरा, तितेपाती बनमारा झार लगायत बनस्पतीका झोल बनाएर आवश्यकता अनुसार बालीमा छर्किन्छन्।
कृस्तिमा लगाइएका सुन्तलामा पनि आवश्यकता अनुसार मल र विषादीको प्रयोग स्थानीय स्तरमै उत्पादन गरिएका छन्। जसमा रासायनिक मल र विषादी प्रयोग गरिँदैन। गण्डकी प्रदेशका कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लमजुङ लगायतका जिल्लाहरू सुन्तलामा प्रख्यात भए पनि टुप्पा मर्ने रोगबाट आक्रान्त छ। यस्ता रोगबाट बिरूवा जोगाउन कुनै अचुक औषधि अहिलेसम्म पत्ता नलागेको पोखरा महानगरका आर्थिक महाशाखा प्रमुख मनहर कडरिया बताउँछन्।
‘सुन्तलामा देखिएका टुप्पा मर्ने रोगको उपचार पत्ता लागेको छैन। यसको उपचार भनेकै यस्ता रोगी बिरूवा नष्ट गरेर नयाँ स्वास्थ्य बिरूवा रोप्ने हो,’ उनले भने, ‘हामीले किसान रोगी सुन्तलाका बोट मासेर नयाँ स्वस्थ बिरूवा रोप्न प्रोत्साहन गरेका छौं।’
पर्यटकीय सहर पोखरामा अर्गानिक उत्पादन खान चाहने रैथाने र पाहुनाको ताँती लाग्ने भन्दै उनले विषादी प्रयोग नभएका उत्पादन महँगोमा बिक्री भइरहेको बताए।
‘अहिले उपभोक्ता नै सचेत हुनुहुन्छ। रासायनिक विषादी प्रयोग नगरिएका तरकारी र फलफूल महँगोमा बिक्री हुन्छ,’ उनले भने, ‘हामीले पनि अर्गानिक उत्पादनमा जोड दिएका छौं।’
विश्वमा रासायनिक विषादीको प्रयोग सन् १९४० देखि थालिएको थियो। नेपालमा भने मलेरिया रोग उन्मूलन गर्न सन् १९५० पछि भित्रिएको थियो।
त्यसपछि कृषि उत्पादनमा रासायनिक मल र विषादी प्रयोग बढ्दै गएको उनले बताए। रासायनिक मल र विषादी प्रयोग गरिरहेका किसानले यसका असर प्रत्यक्ष अनुभव गर्न थालेका छन्।
रासायनिक मल प्रयोग गरिएका खेतबारीमा बालीपिच्छे र खेतीपिच्छे मलको प्रयोग बढाउँदै लैजानुपरेको छ भने विषादीको प्रयोग पनि बढाउँदै लैजानुपरेको छ। रासायनिक मल र विषादीले मानिसलाई दीर्घरोगको समस्या पनि बढाउँदै लगेको कडरिया बताउँछन्।
‘अहिले फिल्म हलमा भन्दा अस्पतालमा धेरै मानिस छन्। दीर्घरोगका लागि औषधि नखाने घर नै छैन भन्दा पनि हुन्छ,’ उनले भने, ‘यस्ता समस्याको एउटा प्रमुख कारण नै रासायनिक मल र विषादीको अत्यधिक प्रयोग हो।’
रासायनिक मल र विषादी प्रयोग गरिएका खाद्यान्नमा पनि त्यसको अंश हुने र विभिन्न प्रकारले मानिसको शरीरमा प्रवेश गर्ने उनले बताए। यसरी मानिसको शरीरमा प्रवेश गरेका रासायनिक पदार्थले दीर्घरोगका समस्या निम्त्याउने गरेको कडरियाले बताए।
पोखरा महानगरपालिकाको कृषि महाशाखाले गत वर्ष एउटा प्रयोग पनि गरेको थियो। महाशाखाले एउटा किसानको बारीमा तीन वटा तरिकाले गोलभेँडा रोपे। पहिलो तरिका किसानको परम्परागत थियो। अर्को, कृषि प्राविधिकको रेखदेखमा अर्गानिक र तेस्रो रासायनिक पदार्थको प्रयोग।
यसरी प्रयोग गरेर हेर्दा रासायनिक पदार्थ प्रयोग गरिएको तरिकाबाट भन्दा अर्गानिक तरिकाबाट गरिएको खेतीबाट धेरै गोलभेँडा फल्यो।
किसानका परम्परागत तरिका र रासायनिक पदार्थ प्रयोगबाट उत्तिकै गोलभेँडा फल्यो।
प्राङ्गरिक तरिकामा पूरा कम्पोष्ट मल र जैविक विषादीको प्रयोग गरिएको थियो भने रासायनिक मल र विषादी प्रयोग गर्दा बिरूवालाई चाहिने मित्रजीवको पनि नष्ट भयो। किसानका परम्परागत तरिकामा भने बिरूवालाई चाहिने मल, पानी र विषादीका मात्रा र समय मिलाउन आवश्यक देखिएको थियो।
तरकारी बालीमा रासायनिक मल र विषादी प्रयोग गर्दा बोटबिरूवा खाने जीव नयाँ स्वरूपमा जन्मिने गरेको कडरिया बताउँछन्। जबकि, रासायनिक विषादीले बिरूवाका लागि अत्यावश्यक मित्रजीव भने नष्ट पारिदिएको थियो।
‘रासायनिक विषादीले बिरूवाका मित्रजीव सखाप पारिदिन्छ। जबकि शत्रुजीव नयाँ नयाँ स्वरूपमा आएर विषादी नै पचाउन सक्ने भएका छन्,’ उनले भने, ‘मित्रजीव र शत्रुजीवलाई सन्तुलनमा राख्न प्राङ्गरिक विषादी प्रयोग गर्नुपर्छ। जुन हाम्रै प्रकृतिमा छन्।’
कृषि बालीमा प्रयोग गरिने प्राङ्गरिक विषादी ‘ट्राइकोडर्मा’ प्रयोग गर्दा बालीको संरक्षण र उत्पादन बढ्ने मात्र नभएर उपभोक्ता र स्वयं कृषकको स्वास्थ्यलाई पनि फाइदा पुग्ने कृषि वैज्ञानिकहरू बताउँछन्।
वातावरणलाई हानि नपुर्याउने यस्ता जैविक विषादीले बिरूवालाई परागसेचन गराउने जीवहरू मौरी, पुतली, चराचुरूङ्गी लगायत बालीनालीका मित्रजीव पनि जोगाउने उनीहरूको भनाइ छ।
बाली लगाउँदा माटोमा बायोचार प्रयोग गर्न पनि उनीहरूले सुझाव दिएका छन्। पातपङ्गिर, ससाना बोट र बिरुवाका डाँठहरू जलाएर खरानी हुनुपूर्व अङ्गार बनेपछि त्यसलाई माटोमा मिलाउँदा पानी सोस्ने क्षमता बढाउने, माटोको गुणस्तर बढाउने, जैविक गुण र सूक्ष्म जीवको संख्या बढाउने लगायत बालीमा सकारात्मक प्रभाव पार्ने कृषि वैज्ञानिकहरू बताउँछन्।
संयुक्त राष्ट्र खाद्य एवं कृषि संगठन (एफएओ) ले बिहीबारदेखि पोखरामा प्राकृतिक समाधानमा आधारित जलवायु स्मार्ट बाली संरक्षणसम्बन्धी २ दिने क्षेत्रीय कार्यशाला आयोजना गरेको छ।
कार्यशालामा नेपाल, बंगलादेश, भियतनाम र कम्बोडियामा काम गरिरहेका कृषि अनुसन्धाता एवं कृषि वैज्ञानिक सहभागी छन्। उनीहरूले आ–आफ्ना देशका कृषि बालीमा देखा परेका समस्याको प्राकृतिक समाधानका उपाय र अभ्यासबारे अनुभव आदानप्रदान गरेका छन्।
एफएओका क्षेत्रीय कृषि कार्यक्रमका वरिष्ठ कृषिविज्ञ डा. युवकध्वज जिसीका अनुसार कार्यशालामा एक देशमा भइरहेका अभ्यास अर्का देशका कृषि प्राविधिक, अनुसन्धाता र कृषि वैज्ञानिकसमक्ष आदानप्रदान गर्न यस्ता कार्यक्रम राखिएको बताए।

‘जलवायु परिवर्तनका कारण कृषिमा देखापरेका नयाँ नयाँ रोग र कीराहरूका समाधान प्राकृतिक तरिकाबाट नै समाधान गरेर उत्पादन बढाउनुपर्छ। कार्बन उत्सर्जन नगरी रासायनिक विषादीको प्रयोग नगरीकन प्रकृतिमै भएका उपयोगी जैविक विधि प्रयोग गरेर समस्या समाधान गर्ने उपायको आदानप्रदान गर्न यो कार्यशाला राखिएको हो,’ उनले भने।
कार्यशालामा भियतनामका कृषि अनुसन्धाताले धान, तरकारी र फलफूलमा लाग्ने कीरा समाधान गर्न सूक्ष्म परजीवी प्रयोग गरेर रोकथामका उपाय प्रयोग गरेका बताएका छन् भने बंगलादेशमा जैविक विषादी, झोलमल, वनस्पतीजन्य विषादीको औद्योगिक उत्पादन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिएको जनाएको छ।
नेपालमा सुन्तलामा लागेका रोग र कीराका समस्या समाधान गर्न जैविक विधि अपनाएको कृषि अनुसन्धाता डा. शान्ता कार्कीले जानकारी गराइन्।
दक्षिण एसिया जलवायु परिवर्तनको जोखिममा रहेकाले यसबाट कृषिमा पारेका प्रभाव घटाउन र अनुकूलनका उपाय अपनाउन पनि यस्ता कार्यक्रमले सहयोग गर्ने एफएओका वरिष्ठ कृषि विज्ञ डा. जिसीले बताए।
‘दक्षिण एसियामा बढ्दो तापक्रमले हिजो देखा नपरेका रोग र कीरा बालीनालीमा देखापरेका छन्। यसको दीर्घकालीन समाधान रासायनिक तरिकाबाट हुँदैन,’ उनले भने, ‘जैविक रोकथामका उपाय अपनाएर यस्ता समस्या समाधान गर्न सकिन्छ। एउटा हानिकारक जीवलाई अर्को उपयोगी जीवले सन्तुलनमा राख्न सक्छ।’
जलवायु परिवर्तनकै कारण मकैमा फौजी कीरा देखिनुका साथै हानिकारक झारहरू बढ्नु, केरा, कफी, अदुवा, अलैंची लगायत बालीमा नयाँ नयाँ रोग र कीरा देखिनु जस्ता समस्या बढेको उनले बताए।
कृषि वैज्ञानिकले प्रयोगशालामा प्रयोग गरेका जैविक विधि र समाधानका उपायहरू किसानका खेतबारीमा पुर्याउन अन्तर्देशीय कार्यशालाले सघाउ पुर्याउने भन्दै उनले नेपालका तीनै तहका सरकारले किसानलाई जैविक खेतीमा सहयोग गर्नुपर्ने बताए।
‘किसानलाई खेतीयोग्य जमिन र लालपुर्जा मात्र दिएर अब पुग्दैन, उपयुक्त जैविक प्रविधि र ज्ञान पनि दिनु आवश्यक छ,’ उनले भने।
पोखरा महानगरले जैविक विविधता, अनुसन्धान तथा विकासका लािग स्थानीय पहल (लिबर्ड) सँग मिलेर किसानलाई जैविक विधिबाट खेतीपाती गर्न प्रोत्साहन दिएको आर्थिक महाशाखा प्रमुख कडरिया बताउँछन्।
उनका अनुसार किसानलाई जैविक मलमा ५० प्रतिशत अनुदान दिने नीति लिएको छ भने रैथाने बालीहरू कागुनो, फापर, कोदो लगायतमा न्यूनतम समर्थन मूल्य तोकिएको छ।

स्थानीय प्रजातिका वासना आउने घिरौंला, डल्ले क्राँक्रो लगायतका बिउ वितरण, आवश्यक तालिम र प्रविधि पनि प्रदान गरिएको कडरियाले बताए।
उनका अनुसार यस्ता रैथाने बालीले जलवायु परिवर्तनका कारण हुने तापक्रम वृद्धि, अत्यधिक वर्षा र खडेरी सहन सक्छन्।
उच्च पौष्टिक तत्व रहने हुनाले स्वास्थ्यलाई पनि उत्तिकै लाभदायक छ।
रैथाने बालीका खेतीपाती जैविक तरिकाले गर्न युवालाई प्रोत्साहन गर्ने नीति महानगरले लिएको उनले बताए।
पोखराका पञ्चासे, अर्मलाकोट जस्ता डाँडाहरूबाट हामीले जैविक खेती अभियान थालेका छौं,’ उनले भने, ‘विदेशबाट फर्किएर आएका युवाहरू पनि जैविक खेतीमा आकर्षित देखिएका छन्।’
स्वस्थ खानेकुरा खानका लागि पोखराका बासिन्दा सचेत देखिएको भन्दै उनले यसरी किसानले गाउँ-गाउँमा उत्पादन गरेका अन्न, तरकारी लगायत कृषि उपज महानगरको कृषि एम्बुलेन्सले बजार लगेर बेच्ने व्यवस्था मिलाएको छ।
महानगरले कृषि उपजमा विषादीको मात्रा परिक्षण गर्न पोखराको तरकारी मण्डीमा ल्याब समेत स्थापना गरेको छ।
ल्याबमा विषादीका मात्रा परीक्षण गरेर जैविक उत्पादनमा लागेका किसानले महानगरले तोकेको समर्थन मूल्यमा १० प्रतिशत थप रकम दिने व्यवस्था पनि महानगरले गरेको छ।
आगामी आर्थिक वर्षदेखि उक्त प्रोत्साहन रकम प्रदान गरिने कडरियाले बताए।
‘हामीले जैविक खेती गरेका किसानलाई समर्थन मूल्यको १० प्रतिशत रकम थपेर दिने गरी आगामी वर्षको योजना बनाएका छौं,’ उनले भने, ‘यस हिसाबले एक किलो गोलभेँडाको समर्थन मूल्य प्रतिकेजी ३७ रुपैयाँ तोकेका छौं। जैविक विधिबाट उत्पादन गर्नुभएका किसानले प्रतिकिलो थप ३ रुपैयाँ ७० पैसा पाउनुहुन्छ।’