नेपाली आँपको बजारीकरण र प्रवर्द्धनका लागि आयोजना गरिएको 'नेपाल म्याङ्गो फेस्ट– २०२५' (आँप महोत्सव) आइतबार सम्पन्न भएको छ।
आँप महोत्सव गत शुक्रबारदेखि सुरू भएको थियो।
महोत्सवमा २० भन्दा बढी प्रजातिका आँप राखिएको थियो, जसमा विश्वकै सबैभन्दा महँगो मानिने जापानको मियाकाजी आँप पनि थियो।
तीन दिने आँप महोत्सव आठ हजारभन्दा बढीले अवलोकन गरे भने ९ हजार किलो बढी आँप बिक्री भएको छ।
प्रदर्शनमा राखिएका प्रजातिका बिरूवा ट्रपिकल होर्टिकल्चर सेन्टर, नवपुर सर्लाहीमा उपलब्ध हुने आयोजकले जानकारी दिएको छ।
आँप महोत्सवको उद्घाटन कृषि तथा पशुपन्क्षी विकास मन्त्री रामनाथ अधिकारीले गरेका थिए।
यस उत्सवको आयोजना काठमाडौं अर्गानिक्स, एग्री नेपाल, अर्थियर एप र युबी होल्डिड्सको सहकार्यमा गरिएको थियो।
फेस्टिभलको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकहरूको मूल्य श्रृंखला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको थियो।
लाजिम्पाटको वाल्नट बिस्ट्रो, स्वयम्भूको एचटुओ क्याफे र झम्सिखेलको वाटरिङ होलमा आँप महोत्सव भएको थियो।