देवीटार गाउँकी दिलकुमारी गुरूङ किसान हुन्। चितवन, भरतपुर महानगरपालिका वडा नम्बरमा २९ पर्ने देवीटार पहाडी क्षेत्र हो। यहाँका बासिन्दा जंगल छेउको पाखोबारीमा खेतिपाती गर्छन्।
दिलकुमारीको परिवार पनि पाखोबारीमा मकै, कोदो लगायतका अन्न तथा तरकारी लगाउँथ्यो। तर त्यो अन्नबाली जंगलबाट निस्किने जनावरबाट जोगाउन हम्मे पर्थ्यो। बाँदरले त आजित नै बनाएको थियो।
अहिले उनलाई खेती जोगाउन कुनै पिर छैन। उनको बारीमा अचेल बाँदरले मन नपराउने बाली रोपिएको छ। त्यो हो — हलेदो अर्थात् बेसारको बोट।
'जे लगाए पनि बाँदरले खाइदिएर आजित भएपछि पाखोबारी बाँझै छाड्न थालेका थियौं। हलेदो लगाउन थालेपछि अचेल आनन्द भएको छ। यो बाँदरलाई रूच्दो रहेनछ,' दिलकुमारीले भनिन्, 'हलेदो बेचेर कमाइ पनि राम्रै हुने रहेछ।'
यस वर्ष १५ सय किलो हलेदो बेचेको दिलकुमारीले बताइन्। उनले उत्पादन गरेको हलेदो भरतपुर–२९ भतेरीमा रहेको सफल सामाजिक उद्यमी सहकारी संस्थाले ३५ रूपैयाँ किलोमा किनिदियो। यो सहकारी संस्थाले किसानबाट हलेदो किन्छ र बेसार बनाएर बेच्छ।
भतेरीकी चिटीमाया गुरूङ पहिले आफूलाई चाहिने बेसार जोहो गर्न हलेदो रोप्थिन्। पाखोबारीमा प्रशस्त फल्ने र बिक्ने पनि थाहा पाएपछि उनले ३ कट्ठामा खेती गर्न थालेकी छन्।
'अरू अन्न लगाए बाँदरले सकिहाल्छ। बेसार खाँदैन। तर त्यो मात्रै धेरै रोपेर काम छैन भन्ठानेर पहिले आफूलाई चाहिने मात्रै रोप्थेँ। बिक्छ भन्ने थाहा पाएपछि पाखोबारीमा सर्लक्कै हलेदो लगाएकी छु,' चिटीमायाले भनिन्, 'धेरै दुःख गर्न पर्दैन। मल हालेर बिउ लगाइदिएपछि ८–९ महिनामा तयार भइहाल्छ।'

उनका अनुसार हलेदो फागुन–चैतमा लगाइन्छ र कात्तिक–मंसिरतिर उत्पादन लिन सकिन्छ।
चितवनको कालिका नगरपालिका, इच्छाकामना र तनहुँको देवघाट गाउँपालिकाका पहाडी क्षेत्रका पाखामा पनि अचेल प्रशस्त हलेदो खेती हुन थालेको छ। किसानहरू कसैले एकल त कोहीले समूह बनाएर खेती थालेका छन्।
भतेरीको सहकारी संस्थाले उनीहरूबाट किनेको हलेदोको बेसार बनाएर, प्याकेजिङ गरी 'चन्द्र सूर्य' ब्रान्डमा बजार पठाउँछ।
महिला समूह समन्वय समितिले किसानहरूलाई समूह बनाएर हलेदो खेती गर्न प्रोत्साहन गर्दै आएको छ। नयाँ माध्यमबाट बेसार उत्पादन गरी महिलाहरूको उद्यमशीलता विकासको काम गरिरहेको समितिकी कार्यक्रम संयोजक सीता पौडेलले बताइन्। यो कामका लागि समितिलाई हेफर इन्टरनेसनल नामक संस्थाले सहयोग गरेको छ।
'भरतपुर, कालिका, इच्छाकामना र देवघाटका पहाडी क्षेत्रमा प्रायः पाखोबारी मात्रै देखियो। त्यसमा पनि जनावरले आजित बनाएकाले खेतिपाती गर्न सकेका थिएनन्,' संयोजक सीताले भनिन्।
त्यसपछि उनीहरूले महिलाहरूलाई एकीकृत गरेर त्यो ठाउँ अनुकूल खेतीका लागि प्रोत्साहन गरे। प्राविधिकको सहयोगमा कृषि, पशुपालनका तालिमहरू दिए।
'हलेदो खेतीबाट अहिले महिलाहरूले राम्रो आम्दानी गर्न थाल्नुभएको छ,' उनले भनिन्।
उनका अनुसार चार स्थानीय तहमा रहेका ५ वटा सहकारी संस्थाले महिलाद्वारा उत्पादित हलेदो संकलन गर्छन् र सबै भतेरीको सफल सहकारीमा ल्याइन्छ।
त्यसपछि मेसिनले पखाल्छ, काट्छ, पिस्छ र बेसार प्याकेजिङ गर्छ। यसरी तयार भएको बेसार सहकारीले बजारमा ४ सय रूपैयाँ किलोमा बेच्छ। काँचो हलेदोबाट बेसार बन्दासम्म तौलमा ८० प्रतिशत हाराहारी कम हुन्छ।
बेसारको प्रचार गर्न काठमाडौं, पोखरा, बुटवल तथा चितवनका सबैजसो बजारमा पुगेको समितिकी अध्यक्ष इन्द्र पौडेलले बताइन्।
'नारायणघाट बजारमा किसानले शरीरभरि बेसार दलेर यसको महत्व बुझाउँदै प्रचार गर्नुभयो। अरू सहरमा पनि विभिन्न शैलीमा अर्गानिक बेसारको प्रवर्द्धन गर्दै आएका छौं,' उनले भनिन्, 'पसलहरूमा भारतीय बेसार पाइन्छ। हामीले स्थानीय र अर्गानिक उत्पादनलाई प्राथमिकता दिनुपर्यो भनेर आग्रह गरेका छौं।'

भरतपुर वडा नम्बर २९ को भतेरी, चौकीडाँडा, कुसुमटार, रातोमाटे, कमलपुर, कालिकाका वडा नम्बर ८, ९, १०, ११, इच्छाकामनाको चण्डिभञ्ज्याङ, देवघाटको काफलडाँडा गाउँको ५ सय विघाभन्दा बढी जमिनमा अहिले हलेदो खेती हुन थालेको संयोजक सिताले बताइन्।
अहिले ७०८ जना महिला समूहमा आवद्ध भएर हलेदो उत्पादन गरिरहेका छन्।
उनीहरूले गत साल पचास हजार किलो (५० टन) हलेदो उत्पादन गरेका थिए। एकै किसानले सिजनमा तीन लाख ५० हजार रूपैयाँसम्म आम्दानी गरेका थिए। समूहमा नबसी व्यक्तिगत रूपमा खेती गर्ने पनि धेरै छन्। उनीहरूको उत्पादन पनि सहकारीले किन्छ।
'यो वर्ष पोहोरभन्दा बढी रोपिएको छ,' उनले भनिन्।
सफल सहकारीकी अध्यक्ष मधुमाया गुरूङका अनुसार महिलाहरू समूहमा आवद्ध भएर काम गर्दा उनीहरूको जीवनस्तरमा सुधार आएको छ। आम्दानी भएको रकम उनीहरूले सहकारीमा बचत र लगानी गरेको उनले बताइन्।
'बेसार उत्पादन त पहिले पनि हुन्थ्यो तर व्यावसायिक थिएन। थोरै खेती गर्ने, घरायसी मिलमा कुटेर बेच्ने चलन थियो। अहिले व्यावसायिक उत्पादन भएको छ। सहकारीले सघाएपछि उत्पादन गर्नेलाई सजिलो भएको छ,' उनले भनिन्।
हेफर इन्टरनेसनलका वरिष्ठ कृषि विकास अधिकृत नारायण भट्टराईले महिलाहरूलाई कृषि र पशुपालनमा सहयोग गरेर आय बढाउन काम गर्दै आएको बताए। हलेदो खेतीमार्फत पहाडी क्षेत्रका महिलाहरूको जीवनस्तर सुधार्न खेतीको तालिम, बिउ, मल उपलब्ध गराइएको उनले बताए।
'हाम्रो लक्ष्य परम्परागत बेसार खेतीलाई व्यावसायिक बनाउने, प्रांगारिक प्रमाणीकरण गर्ने, नेपाललाई बेसारमा आत्मनिर्भर बनाउनेदेखि निर्यातसम्मको छ,' भट्टराईले भने, 'सन् २०२६ सम्ममा सहकारी संस्थाहरूलाई यो काममा सक्षम बनाउने लक्ष्य छ।'
किसानको उत्पादनले सही मूल्य पाउने वातावरण बनाउन स्थानीय तह, महिला समूह समन्वय समिति तथा व्यवसायीहरूसँग समन्वय गरिएको पनि उनले बताए।
