पोखराका पर्यटन व्यवसायीले कृषि संस्कृतिलाई पर्यटनसँग जोड्न असारमा रोपाइँ महोत्सव र मंसिरमा दाइँ महोत्सव आयोजना गर्छन्।
नेपालीका मुख्य खाद्यबाली धान रोप्नेदेखि भित्राउनेसम्मका नेपाली संस्कृति देखेर पर्यटक रोमाञ्चक बन्छन्।
नेपालीहरू आपसमा मिलेर काम गरेको देख्दा उनीहरू दंग पर्छन्।
कृषि प्रणालीलाई पर्यटनसँग जोड्दा ‘अफ सिजन’मा पनि पर्यटन क्षेत्र चलायमान हुने पर्यटन व्यवसायी बताउँछन्।
नेपालमा मुख्य पर्यटकीय सिजनका रूपमा असोज, कात्तिक र मंसिरलाई मानिन्छ।
उक्त समय पदयात्रा गर्न चाहने विदेशी पर्यटक र नेपाली पनि पदयात्रामा निस्कन्छन्।
दोस्रो सिजन मानिने फागुन, चैत र वैशाखमा पनि पर्यटकको आगमन उल्लेख्य रहन्छ।
बर्खा र हिउँदमा भने अरूबेला जस्तो पर्यटकको चहलपहल हुँदैन।
यो समयलाई ‘अफ सिजन’का रूपमा व्यवसायीले लिने गरेका छन्।
अफ सिजनमा पनि पर्यटकलाई आकर्षित गर्न कृषि प्रणालीलाई पर्यटनसँग जोडेको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी बताउँछन्।
‘पोखरा सबै सिजनका लागि घुम्न उपयुक्त छ भनेर सन्देश दिन हामीले कृषि प्रणालीलाई पर्यटनसँग जोडेका हौं,’ उनले भने, ‘हाम्रो संस्कृतिलाई पर्यटनसँग जोड्न सक्यौं भने अफ सिजन भनेर बसिरहनुपर्दैन।’
असारमास पर्यटकको आगमन कमी हुने भएकाले नै २०६१ सालदेखि परिषदले रोपाइँ महोत्सव आयोजना गर्न थालेको हो।
झमझम पानीमा भिजेर धान रोप्दै हिलो खेल्ने, खाजाका रूपमा दही, चिउरा, सेलरोटी, तरकारी र अचार खाने र असारे गीत गाउने संस्कृति विदेशीले मन पराएको उनले बताए।
यसपालि पोखरा–२६ लेखनाथको गुँदे तालमा रोपाइँ महोत्सव आयोजना गरिएको उनले बताए।
रोपाइँ महोत्सव आयोजना गर्न थालिएपछि कतिपय पर्यटक रोपाइँमा भाग लिनकै लागि पोखरा आउन थालेको परिषदका पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन्।
अफ सिजनका कारण पर्यटन क्षेत्र सुनसान हुने भएकाले पर्यटकलाई धान रोपाइँ देखाएर आकर्षित गर्न थालिएको उनको भनाइ छ।
‘असार लागेपछि पर्यटक नै हुन्थेनन्। पर्यटन क्षेत्र सुनसान हुन्थे,’ उनले भने, ‘धान रोप्ने नेपाली संस्कृति पर्यटनमा जोड्न महोत्सव आयोजना गर्न थालेपछि रोपाइँ हेर्नका लागि पनि विदेशी पर्यटक आउन थालेका छन्।’
गुँदे ताल किनारको खेतमा आयोजना गरिएको २० औं रोपाइँ महोत्सवले लेखनाथ क्षेत्रका पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीयवासीले विश्वास लिएका छन्।
पोखरामा फेवाताल मात्र पर्यटकको आकर्षणको केन्द्र बनेकाले लेखनाथका ७ वटा ताललाई पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न महोत्सवले सहयोग गर्ने स्थानीय शान्तिप्रेमी आमा समूहकी अध्यक्ष देवीमाया ढुङ्गानाले बताइन्।
‘पहिलो पटक हामीले गुँदे तालमा रोपाइँ महोत्सव आयोजना गर्न पायौं, अब लेखनाथका तालहरूमा पनि पर्यटक आउने विश्वास लिएका छौं,’ उनले भनिन्।
महोत्सवमा परम्परागत रूपमा ७ हल गोरु प्रयोग गरिनेछ। ट्र्याक्टरको प्रयोग गरी धान रोप्ने चलन बढ्दै गए पनि पर्यटकलाई नेपाली संस्कृति देखाउन गाउँमा रहेका हल गोरु खोजेर परम्परागत शैलीमा महोत्सव सञ्चालन गर्न लागिएको स्थानीय बामदेव ढुङ्गानाले बताए।
‘रोपाइँ महोत्सव नेपाली संस्कृति अनुसार नै होस् भनेर हामीले ७ हल गोरु खोजेका छौं,’ उनले भने, ‘पर्यटकलाई नेपालीले परम्परागत रूपमा धान कसरी रोप्छन् भनेर देखाउन महोत्सवमा ट्र्याक्टर प्रयोग गर्दैनौं।’
उनले महोत्सवमार्फत् लेखनाथ क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न टेवा पुग्ने अपेक्षा गरेका छन्।
पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापाले लेखनाथमा रहेका ७ वटा तालमध्ये गुँदे, न्युरेनी र खाष्टे ताल आफ्नो वडामा रहेको बताए।
गुँदे तालबाट गुँद निकालेर गुन्द्री बुन्ने परम्परा रहेको भन्दै उनले अहिले उक्त प्रचलन हराएको बताए।
पोखरा महानगरपालिकामार्फत तालहरूका संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्न गुरूयोजना बनाएर लागु गर्ने तयारी गरेको वडाध्यक्ष थापाले बताए।
‘गुँदे तालको जैविक विविधता जोगाउने गरी हामीले १५ करोडको गुरूयोजना बनाएका छौं,’ उनले भने, ‘महानगरपालिकाबाट उक्त गुरूयोजना कार्यान्वयनको चरणमा छ।’
महोत्सवमा करिब ५०० जना विदेशी पर्यटक सहभागी हुने परिषदले जनाएको छ।
महोत्सवका अवसरमा हिले दौड, असारे गीत, हिलोमा माछा समाउने लगायत सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ।