बजारमा लिचीको मूल्य बढ्न थालेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
सोमबार कालीमाटी बजारमा लिची प्रतिकिलो न्यूनतम दुई सय १० देखि दुई सय ३० रूपैयाँमा कारोबार भएको छ।
एक साताअघिको तुलनामा यो प्रतिकिलो ४० रूपैयाँसम्म महँगो हो।
एक साताअघि कालीमाटी बजारमा स्वदेशी लिची एक सय ७० देखि एक सय ९० र भारतीय लिची एक सय ६० देखि एक सय ७० रूपैयाँमा कारोबार भएको थियो। समितिको तथ्यांक हेर्दा पछिल्लो समय भारतीय लिची आएको देखिँदैन।
बजारमा लिचीको आपूर्ति घटेसँगै मूल्य बढ्न थालेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष मेघनाथ चौलागाईंले जानकारी दिए।
'अहिले भारतीय लिची खासै आएको छैन, स्वदेशी मात्रै छ,' उनले भने।