बाँकेको राप्ती सोनारी गाउँपालिका–६, ढलैयाकी ५३ वर्षीया उमा विष्टले बसन्ते मकैको खेती गरेको चार वर्ष भयो। त्यसअघि बर्खामा धान रोप्थिन्। धान निकालेर मकै, तोरी, मसुरो जस्ता बाली लगाउँथिन्।
हाल उनको पाँच कट्ठा जमिन मकैले हराभरा छ।
उमाका एक्ला छोरा डोजर चलाउँछन्। उनैले नेपालगञ्जबाट प्रतिकिलो ६७५ रूपैयाँका दरले मकैको बिउ ल्याइदिएका हुन्। उमा र उनकी बुहारी भाडाको ट्र्याक्टर लगाएर खेत जोताउँछन् र खेती गर्छन्।
'पहिलेजस्तो अप्ठ्यारो छैन। हलो जोत्ने पुरूष नभए पनि खेती हुन्छ। ट्र्याक्टरले खेतबारी जोताउँछौं,' उनले भनिन्।
उनीहरूले एउटा गाई, एउटा भैंसी र केही बाख्रा पालेका छन्। यिनै जनावरको मलमूत्रबाट घरमै प्रांगारिक मल बनाएर खेतीमा प्रयोग गर्छन्।
बसन्ते मकै खेती गर्न थालेपछि आम्दानी बढेको उनले बताइन्। उमाले पहिलो वर्ष परीक्षणका लागि एउटा गह्रामा थोरै मकै रोपेकी थिइन्। उत्पादन राम्रो भएपछि दोस्रो वर्ष खेती बढाएकी हुन्।
'हामीले अफ–सिजन मकै खेती गरेको चार वर्ष भयो,' उनले भनिन्, 'पहिला त यसबारे थाहै थिएन। थाहा पाएपछि खेती सुरू गर्यौं। गाउँलेहरूले बसन्ते मकै खेती निकै मन पराएका छन्। धेरै फाइदा हुने भएकाले सबैले खेती गरेका छन्।'


उनको गाउँमा ८५ घरपरिवार छन्। हरेक परिवारले बसन्ते मकैको खेती गरेका छन्।
खेतीवालाहरू हरियो मकै पोलेर खान्छन्। पाहुनालाई कोसेली पनि हरियो मकै नै दिन्छन्। घरपालुवा चौपायालाई हरिया पात र डाँठ काटेर खुवाउँछन्। सुकेका दाना पिसेर पनि खुवाउँछन्।
गत वर्ष अलिक थोरै खेती थियो। घरायसी प्रयोगका लागि छुट्ट्याएर प्रतिक्विन्टल साढे तीन हजार रूपैयाँका दरले ६०० किलो मकै बेचेको उमाले बताइन्। हरियो मकै बेच्दा बढी फाइदा हुने भए पनि गाउँमा त्यस्तो मकै खोज्न कोही नआउने उनले बताइन्।
अहिलेको सुख्खा मौसममा पनि ढलैया गाउँको खेतबारीमा मकैका हरिया बोट र घोगा देखेर जोकोही दंग पर्छन्। यहाँ अफ–सिजन मकै खेती गर्न सजिलो भएको सिक्टा सिँचाइ आयोजनाबाट सिँचाइ सुविधा उपलब्ध भएपछि हो।
उमाका अनुसार चार वर्ष अघिदेखि यहाँ बाह्रै महिना सिँचाइ सुविधा छ। पहिले पुरानो नहरबाट पानी चुहिन्थ्यो। अहिले नहर मर्मत भएको छ। आकाशे पानीको भरमा बस्नु पर्दैन। धानको बिउ राख्न र रोप्न पनि सिक्टाकै पानी आउँछ।
सिक्टा सिँचाइ राष्ट्रिय गौरवको आयोजना हो। राप्ती सोनारी गाउँपालिका–२ स्थित सिक्टा बजारनजिकै राप्ती नदीमा बाँध बनाएर निर्मित पूर्वी नहरबाट ढलैया लगायत दर्जनौं गाउँमा सिँचाइ सुविधा पुगेको छ। सिक्टा बाँधबाट ढलैया गाउँ करिब १९ किलोमिटर दक्षिणमा पर्छ।
वडा नम्बर ६ कै गलरी गाउँका बासिन्दा ५५ वर्षीय फलाराम थारूले सिक्टा सिँचाइबाट धेरै किसान लाभान्वित भएको बताए। सिँचाइ सुविधा पुगेपछि उनको गाउँमा पनि बसन्ते मकैको खेती सुरू भएको छ।
उनका अनुसार गलरी गाउँका ५३ घरपरिवार सबैले बसन्ते मकै खेती गरेका छन्।
गत वर्ष राम्रो फाइदा भएपछि यस वर्ष खेती बढाएको फालारामले बताए। हिउँदे बाली निकालेर खाली भएको खेतबारीमा अफ–सिजनको मानिने बसन्ते मकै खेतीले किसानहरूलाई राम्रो फाइदा भएको उनको भनाइ छ।

'सिक्टा सिँचाइले हामीलाई धेरै सजिलो भएको छ। पहिले दुई बाली मात्रै हुने खेतमा तीन बाली हुन थालेको छ,' उनी भन्छन्, 'पहिले आफ्नो खेतीबाट खान नपुग्नेहरू पनि अहिले मकै बेच्न थालेका छन्।'
गलरी गाउँमा पनि हरियो मकै खोज्ने मान्छे आउँदैनन्। सुकेपछि दाना छोडाएर बेच्नुपर्छ।
वडा नम्बर ६ कै छटकपुर गाउँका बासिन्दा ५७ वर्षीय रामलखन थारूले तीन कट्ठामा बसन्ते मकै रोपेका छन्। छिमेकी गाउँ सिधनवामा ठूलो परिमाणमा व्यावसायिक तरकारी खेती हुने गरे पनि आफ्नो गाउँमा बसन्ते मकै फैलिएको उनले बताए।
'सिक्टा सिँचाइ आएपछि चौबीसै घन्टा पानी छ। यहाँको खेतबारी उब्जाउ छ। युवाहरूले काम गर्ने हो भने आफ्नै ठाउँमा राम्रो कमाइ हुन्छ,' उनले भने।
राप्ती सोनारी गाउँपालिका–६ का वडाध्यक्ष लवराज खरेलका अनुसार आयोजनाको पानी २०७९ सालमा किसानका खेतबारीमा पुगेको हो। सिँचाइ पुगेसँगै खेतीमा किसानहरू आकर्षिक भएको उनले बताए।
'मेरो गाउँ पनरिया हो, म पनि किसान हुँ। मैले पनि यस वर्ष मुंग दाल खेती थालेको छु,' उनले भने, 'मुंग दालको बोट माटोमा मिलाउँदा नाइट्रोजन पोषण पनि हुन्छ।'
आफ्नो वडाका अधिकांश किसानले अफ–सिजनमा मकै खेती थालेपछि रोगकीरा नियन्त्रणका लागि वडा कार्यालयले औषधि (कीटनाशक विषादी) निःशुल्क उपलब्ध गराएको उनले बताए। वडाको सिफारिसमा कृषि ज्ञान केन्द्र, बाँकेले किसानलाई बसन्ते मकैको आधुनिक बिउ पनि उपलब्ध गराइरहेको छ।
सिक्टा सिँचाइ आयोजनामा राज्यको ठूलो लगानी भएकाले त्यसबाट लाभ लिन सिँचाइ पुगेको क्षेत्रका किसानलाई आधुनिक खेती सम्बन्धी तालिम र प्राविधिक सहयोग उपलब्ध गराउन आवश्यक रहेको पनि वडाध्यक्ष खरेल बताउँछन्।


कृषि ज्ञान केन्द्र, बाँकेका सूचना अधिकारी अनिश श्रेष्ठले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ र ६ का किसानलाई बसन्ते मकैको बिउ दिने गरेको बताए। यस वर्ष बाँकेका साढे दुई सय किसानले साढे दुई हजार किलो बिउ निःशुल्क पाएको उनले बताए।
'वडा नम्बर ५ र ६ मा थोरै मात्रामा व्यावसायिक तरकारी खेती हुन्छ। सिँचाइ सुविधा भएपछि अधिकांश किसान बसन्ते मकैको खेतीमा लागेका छन्,' उनले भने।
सिक्टा सिँचाइ आयोजनाको निर्माण आर्थिक वर्ष २०६२/६३ मा सुरू भएको थियो। आयोजनाका निर्देशक राजु आचार्यका अनुसार पछिल्लो लक्ष्यमा हालसम्म ४२ प्रतिशत भौतिक प्रगति भएको छ।
आयोजना सुरू हुँदा पश्चिम नहरको मात्रै काम गर्ने योजना थियो। त्यस अनुसार काम पूरा भएपछि आर्थिक वर्ष २०७०/७१ सालमा पूर्वी नहरको योजना थपियो। पश्चिम नहरमा पनि शाखा–उपशाखा थपिए। यसरी सिंगो आयोजनाको भौतिक प्रगति कम देखिएको हो।
पश्चिम नहरबाट बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, डुडुवा, बैजनाथ, खजुरा र जानकी गाउँपालिकाको कुल ३३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ।
पछि थपिएको पूर्वी नहरबाट राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको ९ हजार हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य छ।
आर्थिक वर्ष २०८९/९० सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य अनुसार काम भइरहेको निर्देशक आचार्यले बताए।