बजारमा हरियो भटमासको मूल्य घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांक अनुसार सोमबार हरियो भटमास प्रतिकिलो थोक मूल्य एक सय ५० देखि एक सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार भटमास प्रतिकिलो थोक मूल्य एक सय ८० देखि दुई सय रूपैयाँमा बिक्री भइरहेको थियो।
तरकारी व्यवसायी खोम प्रसाद घिमिरेका अनुसार हरियो भटमास आउन थालेको चार/पाँच दिन जति भयो।
आपूर्तिका आधार भटमासको मूल्य घटबढ हुन्छ।
उनका अनुसार अहिले भटमास दक्षिणकाली नगरपालिकाको चाल्नाखेल भन्ने ठाउँबाट आइरहेको छ।
जेठ लागेपछि भटमासको मुख्य सिजन सुरू हुन्छ। सिजन सुरू भएसँगै मूल्य पनि घट्दै जानेछ।
सिजनको समयमा भने काभ्रे, धादिङ, मकवानपुर लगायतका क्षेत्रबाट बढी मात्रामा आउँछ।