बजारमा मुलाको एक भाउ महिनादेखि स्थिर छ।
कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
तथ्यांक अनुसार बजारमा मुला रातो, सेतो लोकल र सेतो हाइब्रिड गरी तीन प्रकारको आउँछ।
यी तीन प्रकारका मुलामध्ये तुलनात्मक रूपमा रातो मूलाको भाउ बढी हुन्छ।
सोमबार कालीमाटी बजारमा रातो मुला प्रतिकिलो थोक मूल्य ३० देखि ४० रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, लोकल सेतो मुला प्रतिकिलो १५ देखि २० रूपैयाँ र होइब्रिड सेतो मुला प्रतिकिलो २० देखि २५ रूपैयाँमा कारोबार भइरहेको छ।
एक महिनाअघि पनि बजारमा मुला सोही मूल्यमा कारोबार भइरहेको थियो।
मुला तरकारी वर्गमा पर्छ। यो परम्परागत तरकारी हो।
यसलाई काँचै वा पकाएर खान सकिन्छ।
सबै सिजनमा मुला पाइने भएकाले यसको तरकारी, अचार, चाना लगायतका परिकार बनाउन सकिन्छ।
पछिल्लो समय मुला सलादको रूपमा धेरै प्रयोग हुने गर्छ।
मुलामा प्रशस्त मात्रामा भिटामिन ए, बि, सी हुने भएकाले यसले आँखाको ज्योति बढाउन मद्दत गर्ने पोषणविद् डा. उमा कोइरालाले जानकारी दिइन्।
उनका अनुसार मुलामा प्रशस्त मात्रामा पानी पाइन्छ। यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
मुलामा भिटामिन, क्याल्सियम, आइरन, म्याग्नेसियम लगायतका शरीरलाई आवश्यक पर्ने सुक्ष्म पौष्टिक तत्त्व पाइन्छ।
मुलामा एन्टिअक्सिडेन्ट हुने भएकाले हाम्रो शरीरमा भएको पौष्टिक तत्वलाई खेर जान दिँदैन।
त्यस्तै, सुगर र ग्लुकोजको मात्रा नियन्त्रण गर्ने भएकाले मुला मधुमेहको बिरामीलाई उपयोगी मानिन्छ।