बजारमा सुकेको प्याजको मूल्य बढेको छ।
भारतीय बजारमा प्याजको मूल्य बढेका कारण नेपाली बजारमा पनि मूल्य बढेको नेपाल फलफूल तथा तरकारी व्यवसायी संघका पूर्व अध्यक्ष खोम प्रसाद घिमिरेले जानकारी दिए।
'भारतमा बढेकोले यहाँ मूल्य बढेको हो,' उनले भने।
उनका अनुसार प्याजको मूल्य बढ्न थालेको दुई/चार दिन मात्रै भयो। अहिले बजारमा भारतीय प्याज मात्रै छ। नेपाली प्याज भने नगन्य मात्रामा आएको उनले जानकारी दिए।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले पनि प्याजको मूल्य बढेको देखाउँछ। एक साता (माघ २८ गतेदेखि फागुन ४ गतेसम्म) को तथ्यांक हेर्ने हो भने प्याज प्रतिकिलो थोक मूल्य १४ रूपैयाँले बढेको देखिन्छ।
कालीमाटी बजारमा माघ २८ गते सुकेको प्याज प्रतिकिलो ६४ रूपैयाँदेखि ६६ रूपैयाँमा कारोबार भइरहेको थियो। फागुन ४ गते अर्थात् आइतबार प्रतिकिलो ७८ देखि ८० रूपैयाँले काराबार भइरहेको छ।
थोक मूल्य बढेसँगै बजारमा प्याजको खुद्रा मूल्य पनि बढेको छ।