सिजन सुरू भएसँगै बजारमा तरकारीको भाउ सस्तिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांक हेर्ने हो भने कालीमाटीमा तराई काउली र हरियो फर्सी प्रतिकिलो थोक मूल्य न्यूनतम दश रूपैयाँमा बिक्री भइरहेको छ। बजारमा फर्सी हरियो र डल्ले गरी दुई प्रकारको पाइन्छ।
अहिले बजारमा उल्लेख्य रूपमा तरकारी आएकाले मूल्य घटेको नेपाल फलफूल तथा तरकारी व्यवसायी संघका पूर्व अध्यक्ष खोम प्रसाद घिमिरेले जानकारी दिए।
अहिले बजारमा काठमाडौं उपत्यकासँगै तराई र भारतीय तरकारीहरू पनि आएका छन्।
थोक मूल्य घटेसँगै खुद्रा मूल्य पनि घटेको छ। अहिले कालीमाटी बजारमा तराई काउली र फर्सी २० देखि २५ रूपैयाँमा पाइने व्यापारीहरूले बताएका छन्।
बजारमा गोलभेडा, बन्दा, स्थानीय काउलीको मूल्य पनि घटेको छ।