लमजुङमा यसवर्ष धान उत्पादन बढेको छ।
अनुकुल मौसम, उन्नत जातको धानको विउ प्रयोगलगायतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ।
केन्द्रका कृषि प्रसार अधिकृत सरोज थापाका अनुसार चालु आर्थिक वर्षमा नौ हजार ३०१ हेक्टरमा धानखेती गरिएकामा ३१ हजार एक सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ।
जबकी गत आर्थिक वर्षमा सोही क्षेत्रफलमा २८ हजार ६४७ मेट्रिटन धान उत्पादन भएको थियो।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुई हजार पाँचसय ११ मेट्रिकटन धान बढी उत्पादन भएको हो।
केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३० हजार ९ सय ८६ मेट्रिकटन, आर्थिक वर्ष २०७८/७९ मा ३० हजार ६९८ मेट्रिकटन, आर्थिक वर्ष २०७७/७८ मा ४४ हजार चारसय २५ मेट्रिकटन, आर्थिक वर्ष २०७६/७७ मा ४४ हजार एकसय ५५ मेट्रिकटन, आर्थिक वर्ष २०७५/७६ मा ४४ हजार पाँचसय ४५ मेट्रिकटन आर्थिक वर्ष २०७४/७५ मा ४३ हजार आठसय ३० मेट्रिकटन धान उत्पादन भएको थियो ।
जिल्लामा साबित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, लोकतन्त्र, सुनौलो सुगन्ध जस्ता जातका धानखेती हुँदै आएको छ।