मंगलबार माघेसंक्रान्तिका दिन सखरखण्डको मूल्य घटेको छ।
कालिमाटी तरकारी बजारको मूल्यसूची अनुसार यसदिन सखरखण्डको मूल्य केजीको ३० रूपैयाँले घटेको छ।
माघ १ दिन अर्थात माघेसंक्रान्तिको दिन तरूल र सखर खण्डको बढी खपत हुने गरेको छ। यसदिनलाई कतिले तरूल खाने दिनको रूपमा पनि लिने गर्छन्। यस दिन तरूल भने अघिल्लो दिनकै मूल्यमा किनबेच भएको छ।
आज कालिमाटी तरकारी बजारमा तरूल प्रतिकेजी १०० देखि ११० रूपैयाँको मूल्यमा किनबेच भएको छ। त्यस्तै सखरखण्ड ६० देखि ७० रूपैयाँको बीचमा बिक्री भएको छ। अघिल्लो दिन सखरखण्ड ९० देखि १०० रूपैयाँको बीचमा बिक्री गरिएको थियो।
माघे संक्रान्ति विशेषगरी तरूल र चाकुको चाड हो। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले हरेक वर्ष माघ १ लाई माघे संक्रान्तिको रूपमा मनाइन्छ।
यस दिन घ्यू, चाकु, तिलको लड्डु (तिलौरी), खिचडी, तरूल आदि खाने चलन छ। तरूललाई पुस मसान्तका दिन नै उसिनेर माघ १ गते खाइन्छ। नेपाली उखानै छ, ‘पुसमा पाके, माघमा खाके’ अर्थात् पुसमा पकाएर माघमा खाने।
मंसिरदेखि माघसम्म कन्दमुल खन्ने उपयुक्त समय मानिन्छ। माघपछि विस्तारै अन्य खेतीपातीको समय सुरू हुन्छ। सामान्यतः पानी पर्ने समयमा कन्दमुल खनिँदैन। नयाँ बाली भित्र्याउने समयमा केही न केही विशेष खाने भएकाले माघे संक्रान्तिमा तरूल खाने चलन आएको सोडारी बताउँछन्।