रूपन्देहीको देवदह-६ सरहनबारीका ५९ वर्षीय मानबहादुर गाहा खेतीकिसानीमा लागेको कति वर्ष भयो, उनी आफैलाई थाहा छैन।
पाल्पाको माथागढीमा जन्मिएका मानबहादुरका बुबा कविराम र आमा मनिसरा गाहाले गोठभरि गाईबाख्रा पाल्थे। तिनै वस्तुभाउको गोठालो गएर मानबहादुरले बाल्यकाल बिताए।
कविरामले २०२० सालमा सरहनबारीमा खेत किनेका थिए।
'खेती लगाउन र स्याहार्न बुबाआमासँग माथागढी र सरहनबारी ओहोरदोहोर गर्दा पढ्न पाइएन,' तीन कक्षा मात्र पढ्न पाएका मानबहादुरले भने।
२०४० सालमा माथागढीबाट सरहनबारी बसाइ सरेपछि उनी खेतीकिसानीमै व्यस्त छन्। उनी अहिले सरहनबारीका अगुवा कृषकको रूपमा स्थापित भएका छन्।
बुटवलदेखि ९ किलोमिटर पूर्व देवदहको घोडाहा पुगिन्छ। त्यहाँबाट दुई किलोमिटर उत्तरतर्फको उकालो चढेपछि सरहनबारी पुगिन्छ। वरिपरि हरियाली सहितको जंगलको बीचमा दक्षिणतर्फ भिरालो परेको सरहनबारी क्षेत्र कृषि उत्पादनका लागि उर्बर मानिन्छ।
सरहनखोलादेखि ल्याएको कुलोबाट बाह्रैमहिना सिँचाइ सुविधा पुगेको यो क्षेत्र अर्गानिक कृषि क्षत्रेका रूपमा स्थापित भएको छ। अधिकांश मगर समुदायको बसोबास रहेको सरहनबारीका किसानहरूले अहिले सो क्षेत्रलाई लौरे सिमीको पकेट क्षेत्रका रूपमा विकास गरिरहेका छन्।
यहाँका किसानले हिउँदमा खेतबारीमा अन्नबाली नलगाएको धेरै वर्ष भयो। धान नरोप्ने खेतमा वर्षायाममा पनि तरकारी खेती गर्ने उनीहरूले धान स्याहारेपछि भने सबै खेतमा लौरे सिमी लगाउँछन्।
'बर्षामा रोपेको धान स्याहारेपछि सबै खेतमा थोरै थोरै टमाटर र लसुन लगाए पनि अधिकांश खेतमा लौरे सिमी नै लगाइन्छ,' मानबहादुरले भने।
यहाँका सबैजसो किसान बिहान सबेरैदेखि साँझ अबेरसम्म खेत बारीमा व्यस्त हुन्छन्। पहिले बुबाआमाले गरेको तरकारी खेतीलाई अहिले छोराछोरीले निरन्तरता दिइरहेका छन्।
मानबहादुर आफ्नो ३० कट्ठा र भाडामा लिएको ५ कट्टा जमिनमा यति बेला लौरे सिमी, टमाटर र लसुन फलाइरहेका छन्।
गत वर्ष मंसिरदेखि फागुनसम्म, चार महिनामा तीन लाख रूपैयाँ हाराहारीको हरियो सिमी बेचेका थिए। यस वर्ष राम्रो मूल्य पाएकाले ५ लाख रूपैयाँ बराबरको बिक्ने आशा छ।
'पोहोर १५/२० रूपैयाँ किलोमा बेच्नुपरेको थियो, यसपालि एक सय २० रूपैयाँसम्म बिक्यो। धेरै उत्पादन भइरहेकाले अहिले पनि ६० रूपैयाँ किलोमा खेतबाटै बिक्री भइरहेको छ,' उनले भने।
सहनबारीमै दुर्गा जर्घा मगरको १५ कट्ठा जमिन छ। वर्षामा रोपेको धान स्याहारेपछि सबै जग्गामा अहिले सिमी फलाइरहेकी छन्। मंसिर पहिलो सातादेखि दैनिक ३/४ क्विन्टल सिमी बजार पठाएको उनले बताइन्।
असोज अन्तिमतिर धान काट्ने बित्तिकै लगाएको सिमी अहिले फलिसक्यो। दुई-तीन महिनासम्म बजार पठाउन सकियोस् भनेर केही दिनको फरकमा लगाएकाले केही भने भर्खरै फल्दै गरेको छ।
'लौरे सिमी झुप्पा झुप्पामा धेरै फल्छ। त्यसैले एकैपटक बजार पठाउनुपर्ने हुन्छ। अहिलेसम्म ५/६ पटक टिपियो होला,' दुर्गाले भनिन्।
तरकारी खेतीबाट गत वर्ष तीन लाख रूपैयाँभन्दा धेरै आम्दानी गरेको उनले बताइन्। सिमीबाट मात्र डेढ लाख रूपैयाँ कमाइ भएको थियो। ७२ हजार रूपैयाँमा आठ सय धार्नी पिँडालु बिकेको थियो। ४०/५० हजार रूपैयाँको तरूल र केरा पनि बेचेकी थिइन्।
पर्याप्त सिँचाइ पुगेको र बिहानदेखि साँझसम्मै घाम लाग्ने पारिलो जग्गा भएकाले खेतबारीमा जे खेती गरे पनि राम्रो उत्पादन हुने दुर्गाको अनुभव छ।
'यहाँ त राम्रो खन्न पनि पर्दैन। खेतबारीमा फालिदिए पनि उम्रिएर फल्छ,' उनले भनिन्।
कृषि विकास शाखा देवदहको तथ्यांक अनुसार सरहनबारीमा करिब ५० हेक्टर जमिनमा अर्गानिक तरकारी खेती गरिएको छ। यहाँका किसान पहिलेदेखि परम्परागत रूपमा खेती गर्दै आएका थिए। २०६५ सालमा सरहनकाली सहकारी संस्था गठन भएपछि संगठित रूपमा व्यवसायिक खेतीमा लागेका हुन्।
सहकारीका अध्यक्ष समेत रहेका मानबहादुर गाहाका अनुसार सरहनबारीका ८४ जना किसान सहकारीमा आबद्ध छन्। उनीहरू सबैजसो तरकारी खेतीमा लागेका छन्।
'यहाँ एक सय २०/२५ घर होलान्। त्यसमध्ये धेरैजसोले तरकारी खेती गर्नुहुन्छ,' उनले भने।
वर्षा याममा धान लगाउने किसानहरू हिउँदमा भने सिमी नै रोप्छन्।
स्थानीय थमन गाहाले व्यावसायिक तरकारी खेती थालेको १२ वर्ष भयो। ६ वर्ष रोजगारीका लागि कुवेत र मलेसिया गएर बिताएका उनी विदेशबाट फर्किएपछि तरकारी खेतीमा लागेका हुन्।
उनले आफ्नो २२ कट्ठा जग्गामध्ये सात/आठ कट्ठामा सिमी लगाएका छन्।
'आफ्नो जमिनमा मेहनत गर्न सके परिवार पाल्न विदेश जानुपर्दैन,' उनले भने।
अहिले सिमी, लसुन र टमाटर लगाएका थमनले तरूल र पिँडालुबाट पनि राम्रो आम्दानी गर्न सकिने बताए।
'यहाँ बिक्री भएन भनेर चिन्ता लिनुपर्दैन। जति उत्पादन भए पनि नजिकैको बुटवल बजारले किनिदिन्छ,' उनले भने।
थमनले तरकारी खेती मात्र होइन, एउटा भैंसी पनि पालेका छन्। दैनिक ३/४ लिटर दूध बजार पठाउँछन्। खेतका लागि मल पनि हुन्छ। त्यसैले तरकारी खेती गर्ने सबैजसो किसानले भैंसी, बंगुर, बाख्रा, कुखुरा पालेका छन्।
'दुई महिना लगाएको सिमी बेचेरै वर्ष दिनलाई खान पुग्ने आम्दानी गर्न सकिन्छ। घरमा परिवारसँगै बसेर महिनामा २०/२२ हजार कमाइ छ। जे सोचेर विदेशबाट घर फर्किएको थिएँ, भनेजस्तै भएको छ,' उनले भने।
अर्का स्थानीय प्रेम सिंह रानामगर रोजगारीका लागि भारतमा जाने गरेका छन्। घरमा उनकी आमा, श्रीमती र बहिनीले सिमी, पिँडालु र तरूल खेती गर्छन्। ६/७ कट्ठामा सिमी लगाएर पोहोर एक लाख रूपैयाँ आम्दानी भएको थियो। यस वर्ष डेढ लाख रूपैयाँसम्म कमाइ हुने अपेक्षा छ।
'हरेक सिजनमा बिक्री मूल्य फरक भएकाले यति नै कमाइ हुन्छ भन्ने चाहिँ यकिन हुँदैन,' उनले भने।
आफूहरूको उत्पादनमा रासायनिक मल र विषादी प्रयोग नगरिएकाले माग बढी हुने मानबहादुर बताउँछन्।
'यहाँको माटो नै मलिलो छ। विषादी राख्नुपर्यो भने असुरो, निम, बकाइनो जस्ता वनस्पतिबाट बनाउँछौं,' उनले भने।
किसानहरूले आफ्नै पहलमा सरहन खोलाबाट कुलो खनेर खेतबारीमा सिँचाइ पुर्याएका छन्। चैतदेखि जेठसम्म पानी घटेर सिँचाइ केही अभाव भए पनि वर्षको आठ-नौ महिना पर्याप्त हुने उनले बताए।
त्यस्तै घोडाहादेखि सरहनबारीको माथिल्लो गाउँसम्म सडक पुगेकाले तरकारी लिन व्यापारीहरू खेतसम्मै गाडी लिएर पुग्छन्।
'तरकारी बिक्रीबाटै सरहनबारीमा बर्सेनि ६/७ करोड रूपैयाँ भित्रिन्छ,' मानबहादुरले भने।
कृषकहरूले मेहनत गरेर फलाएको तरकारीको मूल्य बाहिरबाट गएका व्यापारीले तोकिदिएको भने उनीहरूलाई चित्त बुझेको छैन।
'हाम्रो उत्पादनको मूल्य हामी आफैले तोक्न पाउनुपर्ने हो,' उनले भने।
लागत हेरेर नगरपालिकाले मूल्य तोकिदिने हो भने किसान र उपभोक्तासम्म सबैले लाभ लिन सक्ने सरहनबारीका किसानको भनाइ छ।