तिहार सकिएलगत्तै ताजा तरकारीको भाउ घट्न थालेको छ।
उत्पादन बढ्न थालेपछि तरकारीको भाउ क्रमशः घट्ने क्रममा रहेको राष्ट्रिय फलफूल तथा तरकारी व्यवसायी महासंघका पूर्व अध्यक्ष खोम प्रसाद घिमिरेले जानकारी दिए।
‘तिहार अघिको तुलनामा अहिले सबै तरकारीको मूल्य पाँच-दश रूपैयाँले घटेको छ,’ उनले भने, ‘धेरै घटेको त होइन, घट्ने क्रममा चाहिँ रहेको हो।’
उनका अनुसार कालिमाटी तरकारी बजारमा तिहारअघि गोलभेँडा थोक मूल्य प्रतिक्रेट ३५ सयदेखि चार हजार रूपैयाँ थियो। अहिले घटेर १५ सयदेखि दुई हजार रूपैयाँमा कारोबार भइरहको छ।
गत साता मंगलबार कालिमाटी बजारमा ठूलो, टनेल सानो र लोकल गोलभेँडा प्रतिकिलो थोक मूल्य ९० रूपैयाँदेखि एक सय २० रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, भारतीय सानो गोलभेँडा ८० देखि ९० रूपैयाँ थियो।
त्यस्तै लोकल काउली प्रतिकिलो थोक मूल्य एकसय ३० देखि एक सय ४० रूपैयाँमा कारोबार भएकोमा अहिले एक सयदेखि एक सय दश रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै अन्य तरकारीको मूल्य पनि घटेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांकले देखाएको छ।
गत मंगलबार ६० देखि एक सय ८० रूपैयाँमा कारोबार भएको घिउसिमी अहिले ५० देखि एक सय ३० रूपैयाँमा कारोबार भएको तथ्यांकले देखाएको छ।
त्यस्तै, गत साता ९० देखि एक सय रूपैयाँमा कारोबार भएको टाटे सिमी आज ६० देखि ७० रूपैयाँमा कारोबार भएको छ।