केही दिनअघि ६१ वर्षीया रमा परियार बरण्डाभार वनभित्र पसेर निहुरो टिप्न थालेकीमात्रै थिइन्, बाघको पाइलामा उनको नजर पर्यो। पाइलामा राम्ररी नजर लगाइन्। त्यो ताजा थियो। दुई मुठीजति निहुरो लिएर उनी घरतिर कुलेलाम ठोकिन्।
भरतपुर महानगरपालिकाको वडा नम्बर ८ स्थित वनदेवी टोलमा बस्ने रमासँग जंगलमा निहुरो, च्याउ, माछा खोज्न जाँदा बाघ, गैंडासँग आमनेसामने भएका धेरै घटना छन्।
‘दुई मुठीजति निहुरो टिप्न भ्याएकी थिएँ। भुइँमा बाघको पाइला देखिहालें। लौ यतै छ बाघ भनेर टाप कसें,’ उनले भनिन्, ‘होसियार त हुनुपर्यो। पाइला, गन्धहरूबाट नजिकै जनावर भएको मेसो पाइन्छ कहिलेकाहीँ। कहिले चाहिँ नजिक हुँदा पनि थाहै हुँदैन।’
एक पटक साथीसँग च्याउ खोज्न जंगल पसेको बेलामा गैंडासँग रमाको जम्काभेट भएछ। के गरौं, कसो गरौं भएपछि उनले च्याउ राखेको झोलाले गैंडालाई हानेर झाडीभित्र लुकिछन्।
‘लुकेर हेर्दा गैंडा मेरो झोला कुल्चिरहेको थियो। ऊ झोलामाथि रिस पोखिरहेको थियो। झोला काम नलाग्ने बनाएपछि झाडीतिर आयो। लौ अब मार्ने भयो भन्ने लागिसकेको थियो। नजिकै चढ्न सजिलोखाले रूख रहेछ। चढ्न भ्याइहाल्यौं। ऊ हामीलाई हेरेको हेर्यै भयो। एकछिनमा फर्कियो। हामी लामो सास फेरेर घर फर्कियौं,’ उनले सुनाइन्।
वनदेवी टोलमा अहिले ३० सुकुम्बासी परिवार छन्। यो ठाउँ पूर्वपश्चिम राजमार्गको गोन्द्राङदेखि बीसहजारी ताल जाने सडक छेउमा छ। यी ३० परिवार पहिले सोही वडाको गौरीगञ्ज क्षेत्रमा बस्थे। २०६४ सालमा संबिधानसभाको निर्वाचन हुनुअघि बरण्डाभार वन नजिकै सारिएको थियो। राजनीतिक दलको संरक्षणमा बसेका उनीहरू अहिले पनि यहीँ छन्।
‘हामीलाई लालपूर्जा पनि दिन्छौं भनेर ल्याएर बसाले। तर अहिलेसम्म लालपूर्जा पाएका छैनौं। ७ वर्षको हुँदादेखि जंगलमा गोठालो जान थालेकी हुँ। जानेको काम त्यही हो,’ रमा भन्छिन्, ‘निहुरो, च्याउ, माछा खोजेर बेचेन भने त ज्यान पाल्न पनि गाह्रो हुन्छ।’
विहान जंगल पसेर निहुरो, च्याउलगायतका तरकारी टिप्ने यहाँका महिलाहरूको दैनिकी बनेको छ। उनीहरूले संकलन गरेका तरकारी किन्न व्यापारीहरू घरैमा आइपुग्छन्। कोही दाउरा, घाँसपातका लागि पनि जंगल जान्छन्। १७ वर्षदेखि वनदेवी टोलमा बस्दै आएकी ६३ वर्षीया सीताकुमारी गुरूङले आफ्नो मुख्य आयस्रोत नै निहुरो रहेको बताइन्।
‘जंगल छिरेको दिन १०/१२ मुठा ल्याउन सकिन्छ। एक मुठाको ३० रूपैयाँ आउँछ। दिउँसो लोकल रक्सी बनाएर बेच्छु,’ उनले भनिन्, ‘यही आम्दानीले छोराछोरीलाई पढाएँ। अहिले पनि यसैबाट चलिरहेको छ।’
४५ वर्षीया कल्पना श्रेष्ठका श्रीमानले गौरीगञ्जस्थित दूध डेरीमा काम गर्थे। ६० वर्ष पुगेको भनेर डेरीले कामबाट हटाइदियो। अचेल श्रीमान–श्रीमती नै निहुरो टिप्न जंगल जाने गरेका छन्।
‘कहिलेकाहीँ त टन्नै टिप्न सकिन्छ। पैसा पनि त्यहीअनुसार आउँछ। कहिले टिपेपनि सुरक्षाकर्मीले समातिदिन्छन्। जनावरले खाने कुरा तिमीहरूले किन टिपेको भनेर गाली गर्छन्,’ कल्पना भन्छिन्, ‘महिनामा १५ हजार रूपैयाँले पनि घरखर्च पुग्दैन। बाध्यताले जंगल जानुपरेको छ।’
स्थानीय कमला तामाङ भरतपुरका विभिन्न स्थानमा घरायसी काम गर्छिन्। सबेरै उठेर काममा जाने उनी २ वटा घरमा काम सकेपछि ११ बजेतिर घर फर्कन्छिन्।
‘खाना खाएपछि जंगल पस्छु। निहुरो, च्याउ जे–जे भेटिन्छ लिएर आउँछु,’ उनी भन्छिन्, ‘दुई घरमा काम गर्दा १३ हजार रूपैयाँ आउँछ। त्यति पैसाले खर्च टर्दैन। जंगल छिर्यो भने केही पैसा थपिन्छ भनेर भ्याएसम्म जाने गरेकी छु।’
अस्मिता परियारका श्रीमान रोजगारीका लागि साउदी अरेविया गएका छन्। तर आम्दानी राम्रो छैन। उनले छोरालाई बोर्डिङ स्कुलमा पढाएकी छन्।
‘छोराको पढाइको नियमित शुल्क तिर्न पनि जंगल जानैपर्छ,’ उनी भन्छिन्, ‘सासु र म दुबैजना जंगल जान्छौं। निहुरो बेचेर दैनिक ५ सयजति कमाइ हुन्छ।’
५८ वर्षीया रत्नमाया दर्जीकाअनुसार जंगलको निहुरो बिक्री हुन थालेको दस वर्षजति भयो। त्यसअघि उनीहरू आफूलाई खानमात्रै टिप्ने गर्थे।
‘अचेल मान्छेहरू विषादि नहुने भन्दै निहुरो खोज्छन्। जंगलको च्याउको स्वाद मन पराउँछन्। खोलाको माछा झनै मन पराउँछन्,’ उनले भनिन्, ‘पहिले श्रीमानको जागिर थियो, अहिले छैन। खेती गर्न खेत छैन। अचेल पैसा कमाउने एउटै उपाय यही जंगल बनिरहेको छ।’
रत्नमायाका श्रीमान सुकबहादुर दर्जी भरतपुर महानगरपालिकामा मालीको जागिरे थिए। करारको जागिर गुमेपछि उनी पनि निहुरो टिप्न जंगल जाने गरेका छन्।
‘हामीलाई लालपूर्जाको प्रलोभन देखाएर यहाँ राखेका थिए। त्यसबापत हामीले भोट दियौं। तर अहिलेसम्म लालपूर्जा पाउन सकिएको छैन,’ सुकबहादुर भन्छन्, ‘राप्रपाका बिक्रम पाण्डे, एमालेका दावा दोर्जे लामा, माओवादीकी रेनु दाहाल, बद्रिप्रसाद तिमिल्सिना, कांग्रेसका दामोदर न्यौपाने सबैले लालपूर्जा दिन्छु भन्दै भोट मागे। तर टोकनमात्रै पाइयो। लालपूर्जा त कहिले हो कहिले।’
भरतपुर महानगरपालिकाका रोजगार शाखाका संयोजक सन्देश वाग्ले सुकुम्बासी समुदायलाई आयआर्जनसँग जोड्नेगरी विभिन्न तालिमहरूमा सहभागी बनाउने गरेको बताए। अहिले भरतपुर १, २, ८, ११, २९ का सुकुम्बासी टोलहरूमा गैरसरकारी संस्थाहरूमार्फत तथ्यांक संकलनको काम भइरहेको उनले बताए। प्राप्त तथ्यांकका आधारमा महानगरले सञ्चालन गर्ने तालिमहरू उक्त क्षेत्रमा केन्द्रित गर्ने योजना रहेको वाग्लेले बताए।
‘हामीले प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि सकेसम्म सुकुम्बासी समुदायलाई नै समावेश गरेका छौं। अन्य विभिन्न संस्थाले सञ्चालन गरेका तालिममा पनि उनीहरूलाई प्राथमिकतामा राख्न आग्रह गरेका छौं,’ उनले भने, ‘उनीहरूलाई सामाजिक सुरक्षामा ल्याउने, हक हीतका लागि आवाज उठाउने काम एनजिओले गरेको छ। यसबाहेक आर्थिकरूपमा सवल बनाउने काम हामीले नै गर्ने हो।’
वाग्लेले सुकुम्बासी समुदायमा धेरैजसो युवाहरू वैदेशिक रोजगारीमा रहेको र महिलाहरू अनौपचारिक श्रममा रहेको पाइएको बताए।
‘विदेश गएकाहरूले कुनै पनि तालिम नलिई गएकाले राम्रो आम्दानी गर्न सकेका छैनन्। घरमा रहेका महिलाहरू प्रायः जंगल जाने दाउरा, निहुरो, च्याउ, माछा संकलन गरेर बेच्ने बानी परेको छ,’ उनी भन्छन्, ‘कुनै न कुनै सीप सिकेरमात्रै वैदेशिक रोजगारीमा जाने, यहाँ रहनेलाई आयआर्जनमा सहज हुने खालका तालिमहरू दिने हो भनेमात्रै जंगल जानुपर्ने, कानुनले बर्जित गरेको काम गर्ने बाध्यता हट्नसक्छ।’
भूमिहीन सुकुम्बासी, अव्यवस्थित क्षेत्रका महिलाका लागि सुरक्षित बास, अधिकार र हक हीतका लागि काम गर्ने संस्था नेपाल महिला एकता समाज चितवनकी अध्यक्ष जानुका ठकुरी सीपमूलक तालिमहरू दिएर यहाँका महिलाहरूको जंगल जानुपर्ने बाध्यता हटाउनुपर्ने बताउँछिन्। समाजले भरतपुर महानगरपालिकाका वडा नम्बर १, ८ र ११ का रामनगर, वनदेवी टोल रहेको सल्यानी, गणेशस्थान, जखडिमाई र केबी लाइनमा महिलाहरूको सुरक्षित बास र अधिकारका लागि काम गरिरहेको बताइन्। ‘हामीले अहिले उनीहरूको अवस्थाको अध्ययन गरिरहेका छौं। आवश्यकतालाई पहिचान गरेर त्यहीअनुसार काम गर्ने योजना छ,’ ठकुरीले भनिन्।
उक्त संस्थाकी कार्यक्रम अधिकृत सुष्मा देवकोटाले महिलाहरूको समूह बनाएर समस्या पहिचान गर्ने प्रयास गरिरहेको बताइन्। ‘कतिपय महिलाहरू अनौपचारिक श्रममा रहेको तर तोकिएको पारिश्रमिक नपाएको, आर्थिक अभावले अवैधानिक काममा संलग्न भएको पनि पाइयो,’ उनी भन्छिन्, ‘कतिपय त वस्तविक समस्या बताउनै चाहनुहुन्न। पहिचान खुलाउनै गाह्रो मान्नुहुन्छ। हामीले उहाँहरूसँग घुममिल हुँदै सामाजिक सुरक्षाका लागि काम गर्न खोजिरहेका छौं।’