कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषि क्षेत्रमा पारेको वास्तविक क्षतिको यकिन गरी आगामी रणनीति बनाउन मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका छन्।
शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षतिका सम्बन्धमा आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको आकस्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के–कति क्षति पुर्याएको छ यसको वास्तविक तथ्यांक छिटो संकलन गर्न निर्देशन दिएका हुन्।
'बाढीले थुप्रै कृषि उपजहरूमा क्षति पुर्याएको सुनिएको छ,' मन्त्री अधिकारीले भने, 'यसलाई सम्बोधन गर्न आवश्यक छ।'
बैठकमा क्षतिको यकिन तथ्यांक छिटो संकलन गरी आगामी रणनीति बनाउने निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।