बजारमा गालभेँडाको मूल्य स्थिर छ।
१५ दिनदेखि गोलभेँडाको मूल्य स्थिर रहेको कालीमाटी बजारका गोलभेँडा व्यवसायी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।
'माग र आपूर्तिबीच सन्तुलन देखिएकाले गोलभेँडाको मूल्य घटबढ भएको छैन,' उनले भने।
उनका अनुसार आजभोलि बजारमा गोलभेँडाको मूल्य प्रतिक्रेट ७ सयदेखि ९ सयसम्म छ।
कालीमाटी तरकारी बजार विकास समितिको तथ्यांक अनुसार कालीमाटी बजारमा गोलभेँडा ठूलो, सानो लोकल र टनेल गरी तीन प्रकारका आउँछन्।
ठूलो र सानो गोलभेँडा भने भारतीय बजारबाट पनि भित्रिने गरेको छ।
आइतबार कालीमाटी तरकारी बजारमा नेपाली ठूलो गोलभेँडाको मूल्य प्रतिथोक ५० देखि ६० रूपैयाँ छ।
त्यस्तै, भारतीय ठूलो गोलभेँडाको मूल्य ६० देखि ७० रूपैयाँ छ। सानो लोकल गोलभेँडाको मूल्य २० देखि २६ रूपैयाँ छ।
सानो टनेल गोलभेँडाको मूल्य २८ देखि ३८ रूपैयाँ छ। त्यस्तै, सानो भारतीय गोलभेँडाको मूल्य ३० देखि ३५ रूपैयाँ छ।
पछिल्लो समय उत्पादन बढेकाले बजारमा गोलभेँडा लगायत अन्य तरकारीको मूल्य स्थिर नै रहेको राष्ट्रिय फलफूल तथा तरकारी व्यवसायी महासंघका पूर्व अध्यक्ष खोम प्रसाद घिमिरेले जानकारी दिए।
'तरकारीको मूल्य स्थिर नै छ,' उनले भने, 'प्याज र आलुको मूल्य भने केही बढेको पाइन्छ।'