कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले सरकारले घोषणा गरेको कृषिमा लगानी दशक कृषिमा लगानी गर्ने अवसर भएको बताएका छन्।
मुक्तानाथ कृषि कम्पनीले शुक्रबार छैटौं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको ‘कृषिमा लगानी दशक सफलताको लागि सार्वजनिक निजी शहकारी साझेदारी’ छलफल कार्यक्रममा मन्त्री अधिकारीले यस्तो बताएका हुन्।
चालू आर्थिक वर्षको बजेटमा सरकारले २०८१-८२ देखि २०९१-९२ लाई कृषिमा लगानी दशक घोषणा गरेको छ।
कृषि क्षेत्रमा सरकारको लगानी विगतका दशकमा वृद्धि भएतापनि चालु आर्थिक वर्षमा बजेटको तीन प्रतिशतको हाराहारी रहेकोले यसलाई बढाउन आवश्यक रहेको मन्त्री अधिकारीको भनाइ छ।
मन्त्री अधिकारीले निजी क्षेत्रको सहभागिता बिना लगानी दशकले सार्थकता नपाउने बताए।
मन्त्रालयका पशुपंक्षी विकास सचिव डा. राजेन्द्र मिश्रले सरकारले घोषणा गरेको कृषिमा लगानी दशक कृषिमा लगानी गर्नेहरूका लागि अवसर रहेको बताएका छन्। ‘सरकारले मात्रै लगानी गर्ने भनेर दशक घोषणा गरेको होइन। सबैले लगानी गर्ने हो,’ उनले भने, ‘यसलाई लगानी गर्ने अवसर मानौं।’
उनले कृषिमा एक पक्षले मात्र लगानी गरेर नहुने भएकाले सरकार, निजी क्षेत्र र साझेदारी मार्फत कृषिमा लगानी गर्नुपर्ने बताएका हुन्। सरकारले कृषिमा अप्रत्यक्ष रूपमा लगानी गरिरहेको पनि उनले बताए। ‘सरकारले कृषिमा अप्रत्यक्ष लगानी गरेको छ। पहिले गाउँगाउँमा बाटो बिजुली पुगेको थिएन। अहिले पुगेको छ,’ उनले भने, ‘यसले गर्दा कृषि उत्पादन बजारमा ल्याउन सहज भएको छ।’
कृषि उत्पादन खरिद बिक्री गर्न निजी क्षेत्रको लगानीमा ट्रेडिङ कम्पनी सञ्चालनमा आउन पर्ने उनको भनाइ छ। ‘कृषि उत्पादन सरकारले किन्ने र बेच्ने काम गर्दैन। त्यसको लागि निजी क्षेत्रबाट कम्पनी सञ्चालन हुनुपर्छ,’ उनले भने, ‘सहजीकरण सरकारले गरिदिन्छ।’ तरकारी तथा फलफू उत्पादन गरेर बाहिर निर्यात गर्नुपर्ने उनको भनाइ छ।
नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाले सरकारले कृषिमा गर्व गर्ने खालका कार्यक्रम ल्याउन पर्ने बताएका छन्। ‘मन्त्री, पालिका प्रमुख सँधै भइरहने होइन। आफू भएको बेलामा राम्रा कार्यक्रम ल्याउन पर्छ,’ उनले भने।
अहिले सरकारले कृषि अनुदान सिधैं कृषकको खातामा पठाएर राम्रो कामको थालनी गरेको उनको भनाइ छ। ‘राम्रो कामको सुरूआत भइसकेको छ। मन्त्री ज्युले अनुदान लिनेको नाम सार्वजनिक गर्छु भन्नु भएको सुनेको छु। त्यो काम पनि छिटो गर्नु पर्यो,’ उनले थपे।
गोर्खाको गण्डकी गाउँपालिकाको ६१ जना किसानमा क्यान्सर लागेको बताउँदै उनले आगामी दिनमा मन्त्रालयले विषादी परिक्षणलाई पनि विशेष प्राथमिकताका साथ लैजान पर्नेे बताए। ‘केही समय अघि सरकारले नाकाबाट भित्रने फलफूल तथा तरकारीमा विषादी परिक्षण गर्ने नीति लिएको थियो तर त्यो एकदिन पनि टिकेन,’ उनले भने।
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कृषिमा लगानी नपुगेकाले बढाउन पर्ने बताए। कृषि मन्त्रालयलाई अझै सशक्त र बलियो बनाएर लैजान पर्ने उनको भनाइ छ।