बजारमा गोलभेँडाको मूल्य घटेको छ।
कालीमाटी तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
कालीमाटी बजारमा गोलभेँडा ठूलो, सानो लोकल र टनेल गरी तीन प्रकारका आउँछन्। ठूलो गोलभेँडा भने भारतीय बजारबाट पनि भित्रिने गरेको छ।
बिहीबार कालीमाटी तरकारी बजारमा नेपाली ठूलो गोलभेँडाको मूल्य प्रतिथोक ७० देखि ८० रूपैयाँ छ।
त्यस्तै, भारतीय ठूलो गोलभेँडाको मूल्य ८० देखि ९० रूपैयाँ छ। सानो लोकल गोलभेँडाको मूल्य ३० देखि ४० रूपैयाँ छ।
सानो टनेल गोलभेँडाको मूल्य ४६ देखि ५८ रूपैयाँ छ। त्यस्तै, सानो भारतीय गोलभेँडाको मूल्य ४० देखि ५५ रूपैयाँ छ।
पछिल्लो समय उत्पादन बढेकाले बजारमा गोलभेँडा लगायत अन्य तरकारीको मूल्य सस्तिन थालेको राष्ट्रिय फलफूल तथा तरकारी व्यवसायी महासंघका पूर्व अध्यक्ष खोम प्रसाद घिमिरेले जानकारी दिए।
'दुई/तीन दिनदेखि बजारमा तरकारीको आपूर्ति बढेको बढेको छ,' उनले भने, 'त्यसैले मूल्य घटेको हो।'
उनका अनुसार पहिले ७० देखि एक सय रूपैयाँसम्म पर्ने गोलभेँडा अहिले ४० देखि ९० रूपैयाँसम्म झरेको छ। त्यस्तै, लौका, करेला, घिरौंला लगायत तरकारीको मूल्य पनि घटेको छ।