बजारमा हरियो खुर्सानीको भाउ बढेको छ।
कालीमाटी तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
कालीमाटी तरकारी बजारमा खुर्सानी हरियो, सुकेको र हरियो अकबरे गरी तीन प्रकार आउँछन्।
आज कालीमाटी बजारमा हरियो खुर्सानीको थोक मूल्य प्रतिकिलो एक सय ८० रूपैयाँदेखि दुई सय रूपैयाँ छ। यो मंगलबारको तुलनामा एक सय ४० देखि एक सय ५० रूपैयाँले बढी हो।
मंगलबार कालीमाटी तरकारी बजारमा हरियो खुर्सानीको भाउ प्रतिथोक किलो ४० देखि ५० रूपैयाँ थियो।
त्यस्तै, बुधबार सुकेको खुर्सानीको मूल्य भने स्थिर छ। बजारमा सुकेको खुर्सानी प्रतिथोक चार सयदेखि चार सय ५० रूपैयाँ छ।
मंगलबारको तुलनामा बुधबार अकबरे खुर्सानीको मूल्य भने किलोमा ५० रूपैयाँ बढेको देखिन्छ।
मंगलबार हरियो अकबरे खुर्सानीको थोक मूल्य प्रतिकिलो दुई सय ५० देखि तीन सय ५० रूपैयाँ थियो भने बुधबार तीन सयदेखि तीन सय ५० रूपैयाँ छ।
बजारमा हरियो खुर्सानीको आपूर्ति कम भएकाले मूल्य बढेको समितिले जानकारी दिएको छ। समितिका अनुसार मंगलबार दिउँसोदेखि नै हरियो खुर्सानीको मूल्य बढ्न सुरू भएको हो।
कालीमाटी बजारमा हरियो खुर्सानी ललितपुर, भक्तपुर तथा चितवन लगायतका जिल्लाबाट आउँछ।