बजारमा हरियो धनियाँको भाउ बढेको छ।
कालीमाटी बजारको तथ्यांकले एक साताको अवधिमा हरियो धनियाँको भाउ दोब्बर भएको देखाएको हो।
आज कालीमाटी बजारमा हरियो धनियाँको प्रतिथोक मूल्य चार सयदेखि चार सय ५० रूपैयाँ छ।
गत मंगलबार हरियो धनियाँको मूल्य दुई सयदेखि दुई सय ५० रूपैयाँ थियो।
निरन्तर बर्खाका कारण माग अनुसारको आपूर्ति नहुँदा हरियो धनियाँको भाउ बढेको व्यवसायीहरूले बताएका छन्।
हरियो धनियाँ दैनिक रूपमा घरायसीदेखि व्यवसायिक रूपमा खपत हुन्छ। होटल तथा रेष्टुरेन्टको लागि धनियाँ अति आवश्यक पर्ने भएकाले यसको मूल्य घट्न सकेको छैन।
हाल कालीमाटी बजारमा मकवानपुर, दक्षिणकाली, पालुङ, काठमाडौं, भक्तपुर तथा कुलेखानी लगायतका क्षेत्रबाट हरियो धनियाँ आउने गरेको व्यवसायीहरूले बताएका छन्।