पछिल्लो समय तरकारीको भाउ सस्तिएको छ। बजारमा आपूर्ति बढेपछि उत्पादन सस्तिएको हो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले पनि तरकारी सस्तिएको देखाउँछ।
गत सोमबार कालीमाटी बजारमा लौका ४० देखि ५०, घिरौला ८० देखि एक सय र भिन्डी प्रतिथोक मूल्य ६० देखि ७० रूपैयाँमा बिक्री भएको थियो।
आज लौका, घिरौला, भिण्डी प्रतिकिलो थोक मूल्य ३० देखि ४० रूपैयाँमा बिक्री भएको छ।
आन्तरिक उत्पादन बढेका कारण तरकारीको भाउ सस्तिएको फलफूत तथा तरकारी व्यवसायी महासंघका पूर्व अध्यक्ष खोम प्रसाद घिमिरेले बताए।
'गत साताभन्दा अहिले तरकारीको आपूर्ति १० प्रतिशतले बढेको छ,' उनले भने, 'अब उत्पादन बढ्दै जाने भएकाले तरकारी पनि अझै सस्तो हुँदै जान्छ।'
उनका अनुसार हाल कालीमाटी बजारमा दैनिक ६ टनदेखि साढे ६ टन तरकारी भित्रिरहेको छ।
हाल बजारमा काभ्रे, पालुङ, धादिङ, नुवाकोट, सिन्धुली, सिन्धुपाल्चोक, दक्षिणकाली र काठामाडौं उपत्यकाबाट तरकारी आइरहेको छ।
हाल उपभोक्ताले लौका, भिन्डी र घिरौला प्रतिकिलो ५० देखि ६० रूपैयाँमा पाइरहेका छन्।