पछिल्लो समय गोलभेँडाको भाउ घट्न थालेको छ।
बजारमा मागभन्दा बढी आपूर्ति भएसँगै भाउ घट्न थालेको कालीमाटी तरकारी बजारका गोलभेँडा होलसेल व्यवसायी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।
‘अहिले बजारभरी गोलभेँडै गोलभेँडा छ। त्यसैले मूल्य घटेको हो,’ उनले भने।
उनका अनुसार बजारमा गोलभेँडाको भाउ घट्न थालेको दुई/तीन दिन भयो।
हाल कालीमाटी बजारमा गोलभेँडा प्रतिक्रेट सात सयदेखि एक हजार रूपैयाँमा कारोबार भइरहेको छ।
व्यवसायीसँग गोलभेँडा टन्नै मौज्जात रहेकाले भाउ बढ्ने सम्भावना कम रहेको उनको भनाइ छ।
'व्यवसायीसँग टन्नै मौज्दात छ। अझै दुई/तीन दिन यहीँ मूल्य कायम हुन्छ कि घटबढ हुन्छ भन्न सकिन्न,' उनले भने।
यसअघि बजारमा गोलभेँडा प्रतिक्रेट १३ सयदेखि १६ सय रूपैयाँमा कारोबार भइरहेको थियो।
मूल्य घटेसँगै उपभोक्ताले प्रतिकिलो ७० रूपैयाँदेखि एक सय रूपैयाँमा गोलभेँडा पाइरहेका छन्। यसअघि एक सय रूपैयाँ बढी तिर्नुपरेको थियो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले पनि गोलभेँडाको भाउ घट्न थालेको देखाएको छ।
आइतबार, सोमबार र मंगलबारको तथ्यांक हेर्दा सानो लोकल गोलभेँडा टनेल गोलभेँडाको मूल्य घटेको छ। ठूलो गोलभेँडाको मूल्य भने स्थिर देखिन्छ।
सोमबार ठूलो गोलभेँडा प्रतिकिलो थोक मूल्य एक सय १० देखि एक सय ३० रूपैयाँसम्म बिक्री भइरहेको छ। त्यस्तै, सानो लोकल गोलभेँडा प्रतिकिलो थोक मूल्य ४० रूपैयाँदेखि ४५ रूपैयाँ र टनेल गोलभेँडा ४५ रूपैयाँदेखि ५५ रूपैयाँमा कारोबार भइरहेको थियो।
मंगलबार ठूलो गोलभेँडा प्रतिकिलो थोक मूल्य एक सय १० देखि एक सय २० रूपैयाँसम्म बिक्री भइरहेको छ। सानो लोकल गोलभेँडा सोमबारको तुलनामा १५ देखि २० रूपैयाँ घटेर प्रतिकिलो थोक मूल्य २० रूपैयाँदेखि ३० रूपैयाँमा बिक्री भइरहेको छ।
त्यस्तै, टनेल गोलभेँडा पनि प्रतिकिलो सोमबारको तुलनामा मंगलबार १० रूपैयाँले घटेको छ। आज टनेल गोलभेँडा ३५ रूपैयाँदेखि ४५ रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार ठूलो गोलभेँडा प्रतिकिलो थोक मूल्य एक सय १० देखि एक सय २० रूपैयाँसम्म बिक्री भइरहेको थियो। त्यस्तै, सानो लोकल गोलभेँडा प्रतिकिलो थोक मूल्य ४० रूपैयाँदेखि ५० रूपैयाँ र टनेल गोलभेँडा ५० रूपैयाँदेखि ६० रूपैयाँमा कारोबार भइरहेको थियो।
बजारमा ठूलो गोलभेँडा, सानो लोकल गोलभेँडा र टनेल गोलभेँडा आउने गरेको छ। त्यसमध्ये ठूलो गोलभेँडा भने भारतबाट पनि आउँछ।
गोलभेँडाको मुख्य बजार काठमाडौं, हेटौंडा, पोखरा र नारायणघाट हो।
काठमाडौंमा भक्तपुर, धादिङ, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, चितवन र भारतबाट गोलभेँडा आउने गरेको छ।