रायोको सागको मूल्य अहिले घटबढ भइरहेको छ।
सोमबार कालीमाटी तथा फलफूल बजार विकास समितिको तथ्यांक अनुसार प्रतिकिलो थोक मूल्य दुई सयदेखि दुई सय ५० रूपैयाँ थियो।
आइतबारको तुलनामा यो मूल्य एक सय रूपैयाँले बढी हो। आइतबार रायोको साग प्रतिकिलो थोक मूल्य एक सयदेखि एक सय ५० रूपैयाँमा बिक्री भइरहेको थियो।
शनिबार पनि सोही मूल्यमा बिक्री भएको थियो।
शुक्रबार भने रायोको साग प्रतिकिलो थोक मूल्य दुई सयदेखि दुई सय ५० रूपैयाँ थियो।
बजारमा माग अनसार आपूर्ति नहुँदा मूल्य बढेको कालीमाटी बजारका व्यापारी गिता प्रसाद आचार्यले बताए।
'बजारमा साग नै छैन,' उनले भने, 'बिहान थोरै आएको हुन्छ, एकै छिनमा सकिहाल्छ।'
रायोको साग अहिलेको मौसमी तरकारी नभए पनि किसानले टनेलमा उत्पादन गरिरहेका थिए। निरन्तर बर्खाका कारण किसानले लगाएको उत्पादन बजारमा आउन सकेको छैन। त्यसैले गर्दा मूल्य बढ्दै गएको छ।
हाल कालीमाटी बजारमा चरिकोट, धादिङ, भक्तपुर तथा काठमाडौंका विभिन्न ठाउँबाट रायोको साग आउने गर्दछ।