बर्सेनि असारे धान लगाउने सिजनमा मलको अभाव खेपिरहेका किसानलाई यस वर्ष भने अभाव नहुने भएको छ।
सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले रासायनिक मल आयात गरी यहाँ बिक्री–वितरण गर्दै आएका छन्।
यी दुई संस्थानसँग हाल ८४ हजार तीन सय ६२ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए। उनका अनुसार यो तथ्यांक असार २१ गतेसम्मको हो।
'मल मौज्दात पनि छ। थप आउने क्रममा पनि छ,' उनले भने, 'अभाव हुँदैन। ढुक्कले धान रोप्नुस्।'
बिक्री–वितरणमा केही समस्या नआएसम्म किसानले मल पाउने उनको भनाइ छ।
'कहिलेकाहीँ सहकारीले गाउँ-गाउँमा मल पुर्याउँँदैनन्। त्यो भए छुट्टै कुरा,' उनले भने, 'नभए यस वर्ष मल आवश्यक मात्रामा छ। गत वर्ष जस्तो समस्या छैन।'
उनका अनुसार युरिया ४२ हजार, डिएपी ३३ हजार र पोटास नाै हजार मेट्रिक टन मल मौज्दात छ।
जिटुजीमार्फत् २५ हजार मेट्रिक टन डिएपी र ३० हजार मेट्रिक टन युरिया मल भित्रिन सुरू भइसकेको उनले जानकारी दिए। त्यस्तै, थप ३० हजार मेट्रिक टन युरिया मल पनि साउन दोस्रो साताबाट ल्याउन सुरू गरिने उनले जानकारी दिए।
यी दुवै मल कृषि सामग्री कम्पनीले ल्याउने छ।
यी दुई संस्थानले गत साउनदेखि असार तेस्रो सातासम्म चार लाख ३२ हजार मेट्रिक टन मल किसानलाई बिक्री गरिसकेका छन्।
असार अन्तिमसम्म चार लाख ५० हजार मेट्रिक टन मल आउने मन्त्रालयको अनुमान छ।
मन्त्रालयका अनुसार वैज्ञानिकहरूले धान, गहुँ, मकै, उखु, तरकारी, चिया, तोरी लगायत सबै प्रकारका खाद्यान्नका लागि वार्षिक रूपमा आठ लाख मेट्रिक टन मल आवश्यक पर्ने छ। तर हाम्रो खेती प्रणालीको व्यवहारमा भने बर्सेनि पाँच लाख टन मल खपत हुँदै आएको छ।
निजी तथा सीमा क्षेत्रका किसानले भने मल भारतबाट ल्याएर प्रयोग गर्ने गरेका छन्।
यस वर्ष पाँच लाख मेट्रिक टन मलका लागि बजेट भएता पनि नेपाल–भारत बीचको सन्धिका कारण चार लाख मेट्रिक टन मात्रै मल ल्याउन सकिने उनले जानकारी दिए।
उनका अनुसार भारतले आयात–निर्यातका लागि कलकत्ता बन्दरगाह मात्रै प्रयोग गर्न दिएको छ। उक्त बन्दरगाहबाट विगतका वर्षहरूमा ४ लाख मेट्रिक टनभन्दा बढी मल ल्याउन सकिएको देखिँदैन।
'हामीले टेण्डर प्रक्रियाबाट मल ल्याउँछौं। टेण्डर भारतीय कम्पनीलाई पर्यो भने उसले जुनसुकै पोर्टबाट ल्याउन सक्छ,' उनले भने, 'अन्य देशका आपूर्ति सप्लायर्सलाई पर्याे भने कलकत्ता पोर्टबाट मात्रै ल्याउन पाउँछन्।'
मन्त्रालयका अुनसार उच्च पहाडमा जेठ–असार र तराईमा साउनको पहिलो साताबाट धान रोप्न सुरू हुन्छ।
सरकारले धानबालीमा हाल्न मलको मात्रा समेत सिफारिस गरेको छ। उक्त सिफारिस अनुसार रासायनिक मलको प्रयोग गर्दा बीउ लगाउन अगाडि नै फस्फोरस, पोटास, जिंक सल्फेट र बोरेक्सको पूरै मात्रा तथा नाइट्रोजनको एक तिहाई मात्रा मल हाल्नुपर्छ।
त्यसपछि, बाली लगाएको २५ देखि ३० दिनपछि (गाँज आउने समयमा) र बाँकी ५० देखि ५५ दिनपछि (बालीको फूल फुल्नभन्दा अगाडि) प्रयोग गर्नुपर्छ।
धान बालीका लागि सिफारिस गरिएको मलखादको मात्रा
कृषि विभागले उपलब्ध गराएको तथ्यांक अनुसार हालसम्म ४२ प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ।
हाल बजारमा किसानले युरिया प्रतिकेजी २५ रूपैयाँ, डिएपी ५० रूपैयाँ र पोटासको लागि प्रतिकेजी ४० रूपैयाँ तिर्नुपर्छ।
सरकारले रासायनिक मलमा ६० प्रतिशत अनुदान दिँदै आएको छ।