बजारमा घिउ सिमीको भाउ महँगिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार घिउ सिमीको भाउ महँगिएको हो।
मंगलबारको तुलनामा बिहीबार घिउ सिमीको मूल्य दोब्बर बढेको छ।
बिहीबार लोकल घिउ सिमीको थोक मूल्य प्रतिकिलो दुई सयदेखि दुई सय २० रूपैयाँ तोकिएको छ।
मंगलबार लोकल घिउ सिमी प्रतिकिलो थोक एक सयदेखि एक सय २० रूपैयाँ र हाइब्रिड घिउ सिमी एक सय १० देखि एक सय ३० रूपैयाँ थियो।
त्यस्तै, सोही दिन राजमा घिउ सिमीको थोक मूल्य प्रतिकिलो एक सय ३० रूपैयाँदेखि एक सय ५० रूपैयाँ पुगेको छ।
तथ्यांक अनुसार घिउ सिमी लोकल हाइब्रिड र राजमा गरी तीन किसिमका छन्। बिहीबार समितिले राजमा सिमीको मूल्य राखेको छैन भने बुधबार लोकल घिउ सिमी र हाइब्रिड सिमीको मूल्य राखेको छैन।
निरन्तर झरीले तरकारी आउन नसकेकोले मूल्य बढाएको कालीमाटीका तरकारी व्यवसायी गीता आचार्य बताउँछिन्।
'झरीले बाटो बिग्रेको छ। सामान आउन सकेको छैन,' उनले भनिन्, 'माग अनुसार आपूर्ति नहुँदा मूल्य बढेको छ।'
अहिले बजारमा उपभोक्ताले घिउ सिमी प्रतिकिलो दुई सय ५० रूपैयाँ बढी तिरिरहेका छन्।
बजारमा माग अनुसारको आपूर्ति हुँदा आफूले २० रूपैयाँ किलोसम्म बिक्री गरेको उनले बताइन्।