डेरी उद्योगले दूध उत्पादक किसानलाई मासिक भुक्तानी अब दुई किस्तामा गर्नुपर्ने भएको छ।
आइतबार सरकार, उद्योगी र किसानबीच भएको सहमतिमा यस्तो निर्णय गरिएको हो।
सहमतिअनुसार उद्योगहरूले किसानलाई दूधको मासिक भुक्तानी दुई किस्तामा गरेर दिनुपर्नेछ। महिनाको पहिलो १५ दिनको भुक्तानी सोही महिनाको २५ गतेभित्र र पछिल्लो १५ दिनको अर्को महिनाको १० गते भित्र गरिसक्नुपर्नेछ।
त्यस्तै २०८० चैतसम्मको भुक्तानी गर्न बाँकी पैसा उद्योगीले असार २७ गतेसम्म दिइसक्नुपर्ने सहमति भएको छ। २०८१ वैशाख र जेठको बक्यौता भने २०८१ भदौ मसान्तसम्म गरिसक्ने सहमति भएको छ।
त्यस्तै डेरी उद्योगहरूलाई निर्यात प्रवर्द्धनका लागि सहुलियत प्रदान गर्न मन्त्रालयले पहल गर्ने भएको छ।
धूलो दूध र नौनी उत्पादक उद्योगमा ठूलो परिमाणमा दुग्ध पदार्थ मौज्दात रहेको र उद्योगहरूको नगद प्रवाहमा असर परेकाले मौज्दातलाई धितो मानी कर्जा प्रवाहका लागि नेपाल राष्ट्र बैंकको कार्यविधि संशोधनमा सो विषय समावेश गर्न मन्त्रालयले पहल गर्ने भएको छ।
किसान र दुग्ध उद्योगलाई ब्याजमा सहुलियत दिन पनि मन्त्रालयले सहजीकरण गर्ने र प्रदेश सरकारलाई समेत अनुरोध गर्ने सहमति भएको छ। स्थानीय तह तथा प्रदेशवाट उपलब्ध हुने दुग्ध उत्पादक किसानलाई दिँदै आएको प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिन मन्त्रालयलाई आवश्यक समन्वय गर्नेबारे पनि सहमति भएको छ।