तनहुँको भानु नगरपालिकाले नगरमा उत्पादित रैथाने बालीलाई बिक्री वितरणका लागि सोझै काठमाडौं पठाउने भएको छ।
नगरभित्रका किसानले उत्पादन गरेका अर्ग्यानिक खाद्य सामग्रीलाई काठमाडौंमा ल्याएर बिक्री वितरण गर्न नगरपालिका र रैथाने एग्रीप्रोडक्ट नामक संस्थाबीच सम्झौता भएको छ।
सम्झौता अनसार भानु नगरपालिकामा उत्पादित बालीको बिक्रीका लागि संस्थाले सहजीकरण गर्ने नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए।
स्थानीय उत्पादनलाई संकलन गर्न नगरपालिकाकै कृषि शाखाका कर्मचारीहरूले संयोजन गर्नेछन्।
काठमाडौंमा शनिबारबाटै हाट सुरू भइसकेको नगरप्रमुख त्रिपाठीले जानकारी दिए।
‘हिजो दरबारमार्गमा भानुको हाटबजार लाग्यो। त्यहाँ अन्य जिल्लाका रैथाने उत्पादनहरू पनि ल्याइएको रहेछ। त्यहाँ सफल भएपछि अन्य स्थानहरूमा पनि हाटबजार सञ्चालन गर्छौं,’ उनले भने।
हाटबजार शनिबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुनेछ।
नगरप्रमुख त्रिपाठीले स्थानीय उत्पादनको प्रबर्द्धन र बजारीकरणका लागि काठमाडौंमा हाटबजार सञ्चालन गरिएको जानकारी दिए।
'कृषिमा लागेकाहरूलाई बजारको अभाव अब हुँदैन। नगरपालिकाले काठमाडौंसम्म पनि लगेर बेचिदिन्छ भनेपछि किसानहरूलाई पनि उत्पादनमा जोडिन प्रोत्साहन मिल्छ,' उनले भने।
किसानहरूले हाटबजारमै बिक्री भएको मूल्य पाउने पनि उनले बताए।