डेरी उद्योगीले बजेटले डेरी क्षेत्रलाई सम्बोधन नगरेको बताएका छन्।
विश्व दूध दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उद्योगी व्यवसायीले यस्तो बताएका हुन्।
नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले १८ खर्ब ६० अर्ब रूपैयाँ बराबरको बजेट आउँदा सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई तीन प्रतिशत पनि नछुट्याएको बताए।
'हामीले दूध तथा दुग्ध पदार्थको खपत बढाउने कार्यक्रम ल्याइदिन सुझाव दिएका थियौं,' उनले भने, 'तर सम्बोधन भएन।'
सरकारले विद्यालयलाई उपलब्ध गराउने दिवा खाजा अन्तर्गतको कार्यक्रममा दूध तथा दुग्ध पदार्थलाई समावेश गरिदिए डेरी उद्योगी व्यवसायीको समस्या केही हदसम्म समाधान हुने उनको भनाइ छ।
आगामी आर्थिक वर्षको बजेटमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई ५७ अर्ब २९ करोड रूपैयाँ बजेट छुट्याइएको छ।
हाल चार अर्बभन्दा बढीको दूध तथा बटर मौज्दात रहेको नेपाल डेरी एसोसिएनका अध्यक्ष प्रल्हाद दाहालले बताए। त्यस्तै, डेरी उद्योगीले तीन अर्ब रूपैयाँभन्दा बढी किसानलाई दूधको भुक्तानी गर्न बाँकी छ।
'अहिले हामी डेरी क्षेत्रको इतिहासमै पहिलो पटक यस्तो समस्या भोगिरहेका छौं,' उनले भने, 'बजेटले केही समाधान गर्छ कि भन्ने थियो त्यस्तो केही पनि पाएनौं।'
सन् २००१ देखि जुन १ लाई विश्व दूध दिवसको रूपमा मनाउँदै आइएको छ। नेपालले पनि सन् २०११ बाट विश्व दूध दिवस मनाउन थालेको छ।
यस वर्षको दूध दिवसको 'दूध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्द्धन' भन्ने मूल नाराका साथ झापास्थित मेचिनगर–१४ एनएमसी एग्रो फार्मबाट विभिन्न कार्यक्रम गरी मनाइने भएको छ।
दूध दिवस मनाउन थालेसँगै दुग्ध पदार्थको उपभोगको प्रचारप्रसारमा सघाउ पुगेको नेपाल डेरी एसोसिएसनको विश्वास छ।